Breaking News
भरतपुर महानगरको मेयरमा एमालेबाट आधा दर्जन नेताको चर्चा

मधुसूदन दवाडी
चितवन, चैत १७ –
स्थानीय तहको निर्वाचन नजिकिँएसँगै कुन पार्टीबाट भरतपुर महानगरमा को उम्मेदवार बन्छ भनेर चर्चा परिचर्चा सुरु भएको छ ।
अघिल्लो निर्वाचनमा जीतको नजिक पुगेर पनि मतपत्र च्याातिएपछि जबरजस्ती हराइएको एमाले अहिले चितवनमा जसरी पनि भरतपुर महानगर जित्ने पक्षमा छ । निर्वाचनको माहोल अघिल्लो निर्वाचन जस्तै बन्दै गएको छ । अघिल्लो पटक पनि नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर भरतपुर महानगरपालिकामा एमालेसँग चुनावी प्रतिस्पर्धा गरेका थिए । अहिले पनि त्यस्तै अवस्था आउनसक्ने धेरैको अनुमान छ । भरतपुर महानगरपालिकाका विभिन्न पार्टीका कार्यालयहरु, चोक तथा चिया पसलमा एमालेको तर्फबाट को मेयर बन्छ भन्ने विषयको चर्चा छ । एमाले निकट बुद्धिजीवी र पार्टीका पुराना नेताहरुसँग कुराकानीगर्दा अहिले भरतपुर महानगरमा सात नेता मेयरको उम्मेदवार बन्ने चर्चामा छन् ।
आम एमालेका नेता तथा कार्यकर्ताको माझमा नेताहरु देवी ज्ञवाली, पार्वती रावल, विजय सुवेदी, कृष्णभक्त पोखरेल, कृष्ण भुर्तेेल, तेजेन्द्र खड्का र रामप्रसाद न्यौपाने मेयरको उम्मेदवारका लागि चर्चामा छन् ।
पहिले मेयर बन्न कसैलाई कर गर्न नखोज्ने नेता तथा कार्यकर्ताहरु पनि यसपटक भरतपुर महानगरपालिकाको मेयर बन्न आआफ्नो तर्फबाट नेताहरुलाई अनुरोध गरिरहेका छन् । कार्यकारी पद भएकोले र स्थानीय तहमा आफ्नो प्रभाव पार्नको लागि महानगरको मेयर पदलाई निकै महत्वपूर्ण पदको रुपमा लिने गरिएको छ । पदीय मर्यादाका हिसाबले मेयर पद तल भए पनि कार्यकारी र शक्तिको हिसाबले शक्तिशाली पदको रुपमा लिने गरिन्छ । महानगरमा अराबौं बजेट परिचालन गर्ने जिम्मा मेयरकै हातमा हुन्छ । स्थानीय सरकार पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने भएकोले पनि स्थिर सरकारको रुपमा ढुक्क भएर पाँच वर्षसम्म जनताको काम गर्ने अवसर पाइन्छ । तसर्थ भरतपुरको महानगरको मेयरमा एमालेसहित सबै दलका नेताहरुको आकांक्षा बढ्दो क्रममा रहेको छ ।
अघिल्लो पटक मतपत्र च्यातेर जबरजस्ती हराइएको भन्दै यसपटक पनि चर्चाको केन्द्रमा एमालेका पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली छन् । उनले यसपटक टिकट पाउनुपर्ने र न्याय दिनुपर्ने कतिपयको भनाइ छ । ज्ञवाली यसअघि नै भरतपुर नगरको उपमेयर बनेर काम गरिसकेका नेता हुन् । ज्ञवालीले मेयरमा उठ्ने चर्चाबारे प्रतिक्रिया दिँदै भने, ‘म पार्टीको कार्यकर्ता भएकोले पार्टीले जे भन्छ त्यही गर्ने हो । म लड्न तयार छु । हिजो पनि मेयरमा जितेकै हो र अहिले पनि पक्कै जितिन्छ ।’
मेयरको चर्चामा एमालेकी केन्द्रीय सदस्य तथा एमाले चितवनकी निवर्तमान अध्यक्ष पार्वती रावलको पनि चर्चा छ । एमालेको १२ औं महाधिवेशन चितवनको नारायणी किनारमा सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेलेकोले पनि उनको चर्चा र लोकप्रियता बढेको हो । उनले जिल्लाको नेतृत्व गर्दा नेपालकै इतिहासमा पहिलोपटक चितवनको नारायणी किनारमा लाखौंको जनसभा भएको थियो । समावेशिताको हिसाबले पनि महिला मेयर बन्न उपयुक्त हुने कतिपय कार्यकर्ताहरुको बुझाइ छ ।
एमालेका नेताहरु मध्ये मेयरमा चर्चा चलेका अर्का नेता बागमती प्रदेश कमिटी सचिव तथा प्रदेश सांसद विजय सुवेदी हुन् । सधै स्थानीय नागरिकसँगै रहेर काम गर्न रुचाउने सुवेदीलाई यो पद उपयुक्त हुने कतिपयको आकलन छ । उनी सरल स्वभावका नेता भएकाले पनि महानगरको मेयरको उम्मेद्वार हुनुपर्छ भन्नेहरुको संख्या पनि धेरै नै छ । उनी यसअघि भरतपुर अस्पतालको अध्यक्ष हुदा अस्पताल सुधारमा महत्वपूर्ण काम गरेको प्रभाव नागरिकको माझमा देखिन्छ । यस्तै प्रदेश सांसद भइसकेपछि पनि नियमित जनताको घरदैलोमा पुग्ने र दीर्घकालिन महत्वका गणेशधाम, केरुङ्गा र पुंगी खोला आयोजनाको काम गरेको भन्दै नागरिकस्तरमा उनको प्रभाव देखिन्छ । सुवेदीले नारायणी अनलाइनलाई भने, ‘ पार्टीले जे भन्छ त्यो मान्न तयार छु । पार्टीले मेयरको जिम्मेवारी दियो भने त्यो महत्वपूर्ण जिम्मेवारी मैले पूरा गर्नेछु ।’ उनले पार्टीभित्र सामूहिक सरसल्लाह र कुराकानीको आधारमा मेयर को बन्छ भन्ने निक्र्यौल हुने प्रदेश सांसद सुवेदीले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ को उम्मेदवार बन्ने भन्ने कुरा परिस्थिति र स्थानीय आवश्यकता हेरेर हुन्छ ।’
एमालेभित्र संघीय सांसद कृष्णभक्त पोखरेल भरतपुर महानगरको मेयरमा उठ्ने चर्चामा रहेका अर्काे नेता हुन् । जनताको काममा प्रत्यक्ष संलग्न भएर काम गर्न पाइने भएकोले पोखरेल मेयरमा आउनुपर्ने कतिपय नेता तथा कार्यकर्ताको धारणा छ । एमाले चितवनको पूर्वअध्यक्षसमेत रहेका उनी दुईपटक संघीय सांसद भइसकेका छन् । दुईपटककै निर्वाचनमा लोकप्रिय मतका साथ विजयी भएका कारणले पनि मेयरमा उनको चर्चा चलेको हो । सांसद पोखरेलले आफू पश्चिम चितवनबाट राजनीतिमा आएकोले स्थानीय शुभेच्छुकहरुले र आफन्तहरुले एकपटक मेयरमा देख्न पाए हुन्थ्यो भन्ने आशा राखेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ मेरो मेयरमा उठ्ने इच्छा छैन । मेरो संघीय सांसदको म्याद पनि बाँकी नै छ । मेयरमा उठ्न त मिल्छ तर त्यता जाने स्पष्ट सोच बनाइ सकेको छैन ।’
त्यस्तै एमाले चितवनको अध्यक्ष पदका आकांक्षी एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलको पनि भरतपुर महानगरको मेयरमा चर्चा चलिरहेको छ । पश्चिम चितवनको मेघौलीबाट राजनीतिमा उदाएका भुर्तेल शालिन नेताको रुपमा चिनिन्छन् । उनी सांसद बनिसकेपछि पश्चिम चितवनको विकासका लागि निरन्तर खटिएका र स्वच्छ छवि बनाएका कारणले पनि उनी मेयरको उम्मेदवार बन्नुपर्ने कतिपयको भनाइ छ ।
एमाले वाग्मती प्रदेश कमिटी सदस्य तेजेन्द्र खड्को चर्चा पनि भरतपुरको मेयरमा चलिरहेको छ । भरतपुरको वडा नम्बर ११ का वडा अध्यक्ष भएर काम गरिसकेका र सहकारी अभियन्ता भएकोले पनि उनलाई नागरिकसँग प्रत्यक्ष सम्पर्क हुने यो पद उपयुक्त हुने कतिपयको आकलन छ । नेता खड्काले भने यस विषयमा पार्टीको नेताहरुसँग कुनै पनि सम्पर्क नभएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ कसैसँग यस विषयमा कुराकानी नभएकोले अहिल्यै केही नबोलौं ।’
एमाले चितवनका अध्यक्ष तथा युवा नेता रामप्रसाद न्यौपाने यसअघि भरतपुर महानगरको अध्यक्षसमेत बनिसकेकोले पनि मेयरमा उनको चर्चा चलेको छ । कतिपय उनी निकटका युवा नेताहरुले मेयरमा युवा नेता आउनुपर्ने दाबी गरिरहेका छन् । यसबारे न्यौपानले भने, ‘ महानगरको मेयरका लागि एमालेमा योग्य नेताहरु धेरै हुनुहुन्छ । पार्टीले जसलाई निर्णय गरे पनि विजय गराउँछौं ।’
के छ एमालेको मेयरको उम्मेदवार छान्ने प्रक्रिया?
एमालेभित्र भरतपुरको महानगरको मेयरको उम्मेदवार बन्न निश्चित मापदण्ड र प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ । सबैभन्दा पहिले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारको बन्ने भनेर जिल्लाले प्रदेश कमिटीलाई नाम सिफारिस गरेपछि प्रदेश कमिटीले केन्द्रलाई नाम पठाउँछ र केन्द्रबाट छानिने प्रावधान रहेको छ । एमाले चितवनका अध्यक्ष रामप्रसादन्यौपानेले राजनीतिक निष्ठा भएको जनताको काम सजिलै गर्न सक्ने जनप्रिय नेता नै भरतपुरको महानगरपालिकाको मेयरमा सिफारिस हुने बताए । उनले भने, ‘ अहिले नै यही मेयरमा उम्मेदवार हुन्छ भन्न सकिँदैन । हामीसँग धेरै नेताहरु हुनुुहुन्छ ।’एमालेको तर्फबाट भरतपुरको मेयर पदको उम्मेदवारमा कसले बाजी मार्छ भन्ने हेर्न अझै केही दिन पर्खनुपर्ने हुन्छ ।
























