विशेष

फेरि बस भाडा वृद्धि गर्दै सरकार

Banner

काठमाडौं,चैत १८-

व्यवसायीको चर्को दबाबपछि सरकारले पुनः भाडा वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट लामो दूरीको सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय भएको हो ।

सरकारले पेट्रोलियमपदार्थको मूल्यवृद्धि भएकाले भाडा समायोजन गर्न लागिएको जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले मन्त्रालयले भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको भन्दै आइतबारसम्म समायोजन गरिने बताएका छन् । ‘व्यवसायीले भाडा समायोजन गर्न माग गर्दै आउनुभएको छ, मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति आएको छ,’ उनले भने ।

विभागका महानिर्देशक घिमिरेले अहिले कुनै जिल्ला वा ठाउँ विशेषका लागि नभएर अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा ढुवानीका साधनमा मात्र भाडा समायोजन गरिने बताएका छन् । अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर आइतबार सार्वजनिक गरिने घिमिरेले बताएका छन् ।

भाडा समायोजनअन्तर्गत कति वृद्धि गर्ने भन्ने टुंगो लाग्न बाँकी छ । विभागले अहिलेसम्म ३४ प्रतिशत डिजेलमा मूल्यवृद्धि भएकाले त्यसलाई आधार मानेर वृद्धि गरिने जनाएको छ । संघ सरकारले लामो दूरीको भाडा बढाएपछि प्रदेश सरकारहरूलाई पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउन बाटो खुल्नेछ । संघको निर्णयसँगै छोटो तथा मध्यम दूरीको सवारीसाधनको भाडा पनि वृद्धि हुने देखिएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि भएको छ । विभागले यो निर्णय आइतबारदेखि कार्यान्वयनमा जाने र तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने जनाएको छ ।

यसअघि, विभिन्न समयमा डिजेल–पेट्रोलको मूल्यवृद्धि लगातार बढ्दै गएपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई ज्ञापनपत्र बुझाएर मागको सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिँदै आएको थियो । यसअघि, गत २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा २८ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो ।

२७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने मन्त्रीस्तरीय निर्णय गरेर बिदाइ भएका थिए ।

असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ३८ रुपैयाँ पुगेको छ ।

सरकारले अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियमको मूल्यवृद्धि भएको भन्दै पटकपटक वृद्धि गर्दै आएपछि गाडी भाडा वृद्धि गर्नेमा सरकार पुगे पनि यसको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरूलाई यसको मार पर्ने भएको छ । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>