Breaking News

चितवनमा घर बनाउने काठ पाउन सकस,वन पैदावार आपूर्ति समितिमा निवेदनको चाङ

Banner

चितवन,चैत १८-

भरतपुर महानगरपालिका–७ कृष्णपुरका जीवन भट्टराईले घर निर्माण गर्न दुई बर्षअघि जिल्ला वन पैदावार आपूर्ति समिति भरतपुरमा काठका लागि निवेदन दिएका थिए । यो अवधिमा उनको घर बनिसक्यो । तर, उनलाई अहिले जिल्ला वन आपूर्ति समितिले काठ लिनका लागि बोलाएको छ ।

‘सस्तो मुल्यमा चिरानी काठ किन्न पाउने भएकाले निवेदन दिएको थिए । घर बनाउने समयमा पाइँएन । फर्निचरबाट महङ्गो मुल्यमा किनेर ल्याउनु पर्‍यो’, उनले भने, अब त्यो काठ के काम लाग्यो र ! ।’

चितवनमा बढ्दो बसाइँसराइको कारणले काठको माग पनि उच्च छ । जसका कारण माग अनुसार काठ उपलब्ध गराउन नसकिएको जिल्ला वन पैदावार समिति चितवनका सदस्य सचिव विश्व कोइरालाले जानकारी दिए । उनका अनुसार, यहाँ तीन बर्षदेखिका निवेदन रहेका छन् । तीन बर्षको अवधिमा १ हजार ४८७ जनाको निवेदन परेको थियो । तर, कोरोना भाइरस संक्रमण फैलिएपछि काठ विरतण हुन सकेको थिएन् ।

‘काठ विरतण गर्न सकिन्छ कि भनेर प्रत्येक बर्ष निवेदन खुलायौँ । तर, कोभिड–१९का कारण राष्ट्रिय वन कार्यालयबाट काठ निकाल्न सकिएन’, उनले भने, ‘तीन बर्षअघि परेका निवेदन हेरेर अहिले काठ वितरण गरिरहेका छौँ ।’ आर्थिक बर्ष २०७६/२०७७ मा २७६ वटा निवेदन परेका थिए । गत आर्थिक बर्ष ७०४ र चालु आर्थिक बर्ष ५१२ वटा निवेदन परेको उनले बताए । कार्यालयले चालु आर्थिक बर्षका लागि माघ १६ गतेदेखि फागुन १ गतेसम्म निवेदन माग गरेको थियो ।

आपूर्ति समितिको यो बर्ष ३६ हजार क्यूफिड काठ वितरण गर्ने लक्ष्य छ । त्यसमध्ये मर्मत र घर निर्माणमा ३० हजार, दैविक प्रकोपमा एक हजार र विकास निर्माणलाई ५ हजार क्यूफिट सालको काठ वितरण गर्ने उनले बताए । हालसम्म ११ हजार क्यूफिट काठ वितरण भएको छ । आपूर्ति समितले घर निर्माणलाई २५, मर्मतका लागि १५, विपतका लागि १२ र विकास निमार्णका लागि न्यूनतम २५ क्यूफिट काठ दिँदै आएको छ । निवेदन अनुसार, यो बर्षपनि काठ वितरण गर्न नसकिने उनले सुनाए ।

वन डिभिजन कार्यालय चितवनले वरण्डाभार क्षेत्रको काठ संकलन गरेर सामुदायिक वन, वन पैदावार आपूर्ति समिति र टिसिएनलाई समान ३३ प्रतिशतका दरले काठ बिक्रि वितरण गर्ने गर्दछ । तुलनात्मक रुपमा आपूर्ति समितिमा काठ सस्तो पाइने भएकाले निवेदन दिनेको संख्या बढी हुने गरेको छ । घरकाज र विकास निर्माणका लागि प्रतिक्यूफिट ३ हजार १५० रुपैयाँ र विपद प्रकोपका लागि १ हजार ३५० रुपैयाँमा समितिले काठ बिक्रि गर्दै आएको छ । वन कार्यालयबाट काठ पाएका सेवाग्राहिले द टिम्बर कर्पाेरेशन (टिसिएन) बाट काठ नपाउने कोइरालाले बताए । दुई बर्षभन्दा नक्सा पास भएकाहरुलाई मर्मतका रुपमा काठ उपलब्ध गराउँदै आएको छ । आपूर्तिले भने वन कार्यालयबाट गोलाई काठ खरिद गर्दै आएको । ए ग्रेडको काठलाई एक हजार, बि ग्रेडको काठलाई ८०० र सि ग्रेडको काठलाई ५०० रुपैयाँमा खरिद गर्ने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>