चितवन विशेष

चितवनमा आजदेखि कांग्रेसको घरदैलो अभियान, भरतपुर २९ को वडा अध्यक्ष उम्मेद्वारमा गुरुङ सर्वसम्मत

Banner

चितवन, चैत १२–

सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै चितवनमा चुनावी सरगर्मी सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसले आज देशैभर ‘घरघर जाऔं, कांग्रेसलाई जिताऔं’ नारासहित चुनावी अभियान सुरु गरेलगत्तै चितवनको ९८ वटा वडामै अभियान सुरु भएको छ ।

कांग्रेस चितवनले ९८ वटा वडामै चुनावी अभियानका लागि प्रतिनिधि खटाएको छ । भरतपुर–२९ मा जिल्ला सदस्य अनमोल अधिकारीको संयोजकत्वमा परिचालित टिमले अभियान थालेको छ । अधिकारीको टिमले एक महिना अघि नै सो वडाको अध्यक्षको उम्मेद्वार टुंगो लगाउन सफल भएको छ । आज सुरु भएको चुनावी अभियान अन्तरगत भरतपुर–२९ को वडा अध्यक्षमा क्याप्टेन सूर्यबहादुर गुरुङ सर्वसम्मत उम्मेद्वार चयन भएका छन् । भेलाले गुरुङलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको संयोजक अधिकारीले जानकारी दिए ।

गुरुङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट वडाअध्यक्षमा लडेका थिए । त्यसबेला उनी ४२ मतले पराजित भएका थिए । अहिले पुनः गुरुङलाई नै कांग्रेसले उम्मेद्वार बनाउने भएको हो । गुरुङ कांग्रेसबाट उम्मेद्वार बन्ने पहिलो व्यक्ति बनेका छन् । अन्य वडाको अध्यक्षको उम्मेद्वार टुंगो लागेको छैन ।

चुनावी अभियानमा खटिएका संयोजक अधिकारीले सबैको सहमतिमा उम्मेद्वारी तय गरिएकाले यसपटक वडा अध्यक्ष कांग्रेसले जित्ने दावी गरे । उनले वडामा सकरात्मक उर्जासहित कांग्रेस कार्यकर्ताहरु घरदैलो अभियानमा होमिएको बताए । सो वडामा अधिकारीसंगै प्रतिनिधिको रुपमा केशव रिमाल र प्रल्हाद उप्रेती पनि खटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>