Breaking News
चितवनमा १४१ इजाजत प्राप्त हातहतियारमध्ये २७ वटाको मात्रै नविकरण

प्रतिमा कुमाल
चितवन, चैत १०—
चितवनमा १४१ इजाजत प्राप्त हातहतियारमध्ये २७ वटाको नविकरण भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका नायव सुब्बा विश्वास श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा २७ वटाको नविकरण भएको हो । गत आर्थिक वर्ष २०७७\०७८ मा व्यक्ति तथा संस्थागत गरी ४८ जनाले नविकरण गरेका थिए ।
हतियार नविकरणको अवधि दुई वर्ष रहेको छ । प्राय नविकरणको लागि आउने हातहतियार २२ बोरको रहेको नासु श्रेष्ठले बताए । नविकरण हुन बाँकी हातहतियार आउन अझै बाँकी रहेको जानकारी दिएका छन् ।
यस्तै चितवन प्रशासनले सुरक्षा समितिको बैठकपछि इजाजत प्राप्त हातहतियार संकलन गर्ने जानकारी दिएको छ । स्थानीय निकाएको चुनाव नजिकिँदै गर्दा जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले यस्तो बताएका हुन् । उनले भने, ‘हामी सुरक्षा समितिको बैठक बस्छौं । जहिलेदेखि नियन्त्रणको आवश्यकता महसुस हुन्छ त्यसपछि निर्णय हुन्छ । सूचना जारी गरेर सबैलाई हातहतियारहरु बुझाउन जानकारी गराउँछौं ।’
निर्वाचनको अवधिमा हातहतियारको दुरुपयोग हुनसक्ने भएकोले इजाजत प्राप्त हातहतियार संकलन गरिने गरेको उनले बताए । ‘चुनावको बेलामा विभिन्न समूह अथवा राजनीतिक दलहरुले पनि हतियारको दुरुपयोग गर्छन् कि भन्ने हुन्छ । निश्चित अवधिका लागि आत्मसुरक्षाका लागि राखिएको हतियार फिर्ता लिने गरिएको हो,’ उनले भने । यसो गर्दा शान्ति सुरक्षामा कायम हुने पौडेलको भनाइ छ । यद्यपि जिल्ला प्रशासन कार्यालय सिरहाले भने हातहतियार बुझाउँन सूचना जारी गरिसकेको छ ।
इजाजतमा जरिवाना बढ्यो
जिल्ला प्रशासन कार्यालय चितवनले गएको भदौंबाट नविकरण नभएको हातहतियारलाई भारी जरिवाना गरेको जानकारी दिएको छ । प्रशासनका नायव सुब्बा विस्वास श्रेष्ठका अनुसार हातहतियार खरखजाना नियमावली–२०७८ को दशौं संशोधनले यस्तो नियम ल्याएको जानकारी दिएका हुन् ।
के छ नियमावलीमा ?
नियमावली अनुसार हातहतियारको इजाजतपत्र अवधि नाघेको ३५ दिनभित्र अर्को आर्थिक वर्षको निमित्त नवीकरण गराइसक्नु पर्छ । यस्तो नभएमा नवीकरण गर्ने म्याद नाघेको ३५ दिनमा नविकरण दस्दुर सयकडा २५ प्रतिशतले थप जरिवाना हुने छ । यो अवधि नाघेपछि तीन महिनासम्म नविकरण दस्तुर ५० प्रतिशतले थप हुने छ ।
यो अवधि पनि नाघेपछि सोही वर्षको अन्तसम्म नविकरण दस्तुर १०० प्रतिशत थप हुने छ । यस्तै सो अवधिसम्म पनि नविकरण गर्न नसकेमा सोको कारण खोली इजाजतपत्र वालाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएमा सो म्याद नाघेको मितिले देहायको अवधिको लागि नियम १० बमोजिम लाग्ने जरिवाना थप अतिरित्त देहाय बमोजिमको थप दस्तुर लिई नविकरण गरिने छ ।
यस्तै नविकरण नगरेको एक वर्षसम्म हातहतियारको राजस्व, जरिवाना सहित थप ५०० थप हुने छ । दुई वर्षसम्म एक हजार, तीन वर्षसम्म १५००, चार वर्षसम्म दुई हजार, पाँच वर्षसम्म दुई हजार ५०० थप हुने छ । यो अवधिभित्र पनि इजाजतपत्र नवीकरण नभएमा सो इजाजतपत्र स्वत खारेज तथा जफत हुने नासु श्रेष्ठले बताए ।
पिस्तोल रिभल्वर वा मिनिएचर राइफलसहित अन्य हातहतियारको नविकरण दस्तुर जिल्लाभित्र दुई वर्षको तीन हजार रहेको छ । नेपालभरको इजाजत भए चार हजार रहेको प्रशासनले जानकारी दिएको छ । दशौं संशोधन हुनभन्दा अगाडि जिल्लाभर ३०० र नेपालभर ७५० दस्तुर रहेको थियो । यद्यपि जरिवानाको नियम भने समान छ ।
























