Breaking News

चितवनका विश्व कीर्तिमानी पूर्जालाई भोलि सम्मान गरिँदै, कोरियाले कायम गरेको कीर्तिमान ३० वर्षमा भंग

Banner

प्रतिमा कुमाल

चितवन, चैत ९-

विश्व किर्तिमानी निर्मल पूर्जा (निस्स दाई) भोली आफ्नो गृह जिल्ला चितवनको नारायणी किनारमा आउँदै छन् । सात वटा विश्व कीर्तिमानसहित गिनिज बुकमा नाम लेखाइ सकेका निर्मल पूर्जालाई चितवनले स्वागत, अभिनन्दन तथा सम्मान गर्न लागेको हो ।

दिउँसो १ः३० बजे उनको भरतपुर विमानस्थलमा स्वागत गर्ने कार्यतालिका रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । दिउँसो २ बजेदेखि लाएन्सचोकबाट पुलचोक हुँदै, पोखरा बसपार्कबाट रामनगर पूर्जाको निवास हुँदै नारायणी तिरसम्म अभिनन्दन यात्रा रहेको छ । ३ः०० बजेबाट ६ः०० बजेसम्म नारायणी कला मन्दिरमा सांस्कृतिक कार्यक्रम रहेको छ । जसमा कलाकार राजु लामा र सपनिल शर्माको बेजोड प्रस्तुति रहने जनाइएको छ । ६ बजेबाट १४ पिक्स नामक ‘नोथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री प्रदर्शन हुने छ ।

‘सबै कुरा सम्भव छ ।’ भन्ने नाराका साथ उनी हिमाल आरोहण अभियानमा लागेका हुन् । उनले ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरेको विश्व कीर्तिमान छ । जसमा ८ वटा नेपालका, ५ वटा पाकिस्तानका र एउटा चीनको हिमाल रहेको छ । उनले १४ हिमालको आरोहण ६ महिना ६ दिनमा सकेका थिए ।

पाकिस्तानमा रहेको संसारको अग्लो दोस्रो हिमाल घातक के टू समेत जाडो याममा सफल आरोहण गरी सात वटा विश्व कीर्तिमान गिनिज बुकमा नाम लेखाइ सकेका छन् । यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ् होे थिए । जसले १४ हिमालको आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएका थिए । सन् १९८७ मा कायम गरेको कीर्तिमान पूर्जाले ३० वर्षपछि भंग गरेका हुन् ।

हिमाल आरोहणमा आधारित रहेर तैयार पारिएको डकुमेन्ट्री नेट फ्लिक्समा ट्रेन्डिङमा पहिलो हुन सफल भएको छ । डकुमेन्ट्रीमा हिमाल आरोहणका विषय देखाइने छ । बेलायतको इस्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्वगोर्खा आरोही निर्मल पूर्जालाई सम्मान गरेको थियो । पूर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधिसहित सम्मान गरिएको हो । निर्मल नेपाल पर्वतारोहण संघको सद्भावना दूतसमेत हुन् ।
कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिकसमेत हुन् । ब्रिटिश गोरखाको २०० वर्षको इतिहासमा पहिलो नेपाली एसवीएस भएका पूर्जाले बेलायती महारानीबाट एमवीई पारितोषिक उपलब्धि उत्कृष्ट चरम पर्वतारोहण उपाधि हासिल गरिसकेका छन् ।

नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिकाको ३ दाना भन्ने ठाउँमा सन् १९८३ मा निर्मल जन्म भएको थियो । पछि बसाइँ सरेर भरतपुर महानगरपालिका वडा नं १ रामनगरमा बसोबास गर्दै आएका छन् । ब्रिटिस सेनामा १६ वर्ष काम गरेका निर्मलले १० वर्ष यूके स्पेसल फोर्सेस् (यूकेएसएफ) मा बिताए । निर्मल पूर्जाले आफ्नो दृढ विश्वास, अद्भुत साहस र क्षमताको प्रयोग गरी नेपाल र नेपालीलाई संसार भर नै चिनाउन सफल भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>