चितवन विशेष
राप्रपा चितवनले निर्वाचन केन्द्रित घरदैलो अभियान सुरु गर्ने

चितवन, ९ चैत-
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले निर्वाचन केन्द्रित घरदैलो अभियान सुरु गर्ने भएको छ । जिल्ला पदाधिकारीको बैठकले पालिकास्तरमा स्थानीय तह चुनाव लक्षित घरदैलो अभियान सञ्चालनको तयारी गरेको हो । राप्रपा चितवनका उपाध्यक्ष जीवलाल पुरीले स्थानीय तहका सबै वडामा घरदैलो अभियान चलाउने तयारी भएको बताउनुभयो । उहाँले छिटै एकसाथ चितवनमा घरदैलो अभियान सुरु हुने बताउनुभयो ।
जिल्ला कार्यसमितिको आज (बुधबार) बसेको पदाधिकारी बैठकले पालिका तथा वडास्तरमा चुनावी अभियान सफल बनाउन कार्यविभाजन समेत गरेको छ । राप्रपाका केन्द्रीय सहमहामन्त्री तथा बागमती प्रदेश सांसद रिना गुरुङ, सहायक महामन्त्री प्रेम बलायरको विशेष उपस्थितिमा बसेको पदाधिकारी बैठकले घरदैलो अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
जिल्ला उपाध्यक्ष पुरीका अनुसार पदाधिकारीहरुलाई पालिकास्तरको चुनावी अभियानको संयोजक बनाइएको बताउनुभयो । भरतपुर महानगरमा जिल्ला उपाध्यक्ष हिमला गुरुङ, माडीमा प्रवक्ता राजु भण्डारी, इच्छाकामनामा जिल्ला उपाध्यक्ष जीवलाल पुरीलाई संयोजक तोकिएको छ । यस्तै रत्ननगरमा कोषाध्यक्ष दिनेश अधिकारी, खैरहनीमा सचिव केशव भण्डारी, राप्तीमा उपाध्यक्ष चेतनाथ वाग्ले र कालिकामा सहसचिव रामजी अधिकारीलाई संयोजक तोकिएको छ ।
पालिकास्तरको चुनावी अभियानका संयोजकहरुले वडास्तरमा सम्पर्क कार्यालय स्थापना गर्ने, टोल इकाई समितिहरु गठन गर्ने, सम्बन्धित वडाको जनवर्गिय जनसंगठनहरु परिचालन लगायतका कामहरु गर्नेछन् । घरदैलो अभियानमा राप्रपाका सिद्धान्त, आदर्श, जनअपेक्षाका कामबारे सुझाव समेत लिने गतिविधिहरु हुनेछन् । जिल्ला उपाध्यक्ष पुरीका अनुसार वडातहमा समेत जिल्ला नेता, कार्यकर्तालाई समेटेर घरदैलो अभियानलाई सफल बनाउन कार्यविभाजन गरिएको छ ।
बैशाख ३० गते हुने स्थानीय तहमा राप्रपाका उम्मेदवारलाई जिताउन घरदैलो अभियानले सघाउने जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार चुनावी अभियानमा केन्द्रीय नेताहरु समेत आउने गरी कार्यक्रमहरु तय हुनेछन् । उहाँले यसपाली राप्रपाको पक्षमा जनलहर तथा पार्टी प्रवेश बढेकाले धेरै सिटमा राप्रपा विजयी बन्ने दाबी गर्नुभयो ।
























