Breaking News

चितवनमा बिकराल बन्दै बेरोजगारीः तीन दिनमा दुई हजार बढीको म्यादी प्रहरीमा आवेदन

Banner

पूजा ढकाल

चितवन, चैत ९-

चितवनमा म्यादी प्रहरीका लागि पछिल्लो तीन दिनमा दुई हजार बढीले आवेदन बुझाएका छन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै चितवनमा फारम भर्नेहरूको भीड लागेको हो । चैत ६ गतेदेखि हिजोसम्म आवेदन दर्ताको तथ्यांक हेर्दा चितवनमा दुई हजार १८६ जनाले आवेदन बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले म्यादी प्रहरीमा भर्नाको लागि दरखास्त आब्हान गरेसँगै चितवनको विभिन्न क्षेत्रबाट युवायुवतीको भीड लागेको छ । आवेदन खुलाएको तीन दिनमा जिल्लामा दुई हजार धेरै युवायुवतीले आवेदन बुझाउनु भनेको देशमा बेरोजगारीको अवस्था विकराल बढ्दै जानु भएको विज्ञहरुले बताएका छन् । राजनीतिक दलहरु निर्वाचनको माहोलमा लागेको तर समाजमा गरिबी र बेरोजगारी हटाउनमा ध्यान नपुगेकोले यो अवस्था आएको सप्तगण्डकी व्यवस्थापन विभागका प्रमुख कपिलदेव सुवेदीले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ अब राजनीतिक दलहरुको ध्यान बेरोजगारी र गरिबी अन्त्यतर्फ जानुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार दैनिक ७०० बढीले जिल्ला प्रहरी कार्यालयमा आएर आवेदन बुझाउने गरेका छन् । उनले भने, ‘म्यादी प्रहरीमा भर्ना हुन जिल्लाका सबै क्षेत्रबाट विद्यार्थीदेखि बेरोजगार युवायुवती तथा गृहिणीसमेत आउने गरेका छन् ।’ जसमध्ये मंगलबारसम्म ७०८ महिला र एक हजार ४७८ पुरुषले आवेदन बुझाएका छन् ।

सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीमा भर्ना खुलाएको छ । तर, सरकारले चितवन जिल्लाबाट १७०९ जनाको लागि आवेदन खुलाएका भए पनि तीन दिनमै दुई हजार १८६ जनाले आवेदन बुझाएको अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । त्यस्तै उनकाअनुसार म्यादीमा भर्ना हुन इच्छुकले चैत ११ गतेसम्म तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सक्ने छन् । उनका अनुसार देशमा राम्रो रोजगारी सिर्जना नभएको र म्यादी प्रहरीले केही राहात दिने भएकोले आवेदन दिनेको संख्या हाव्ततै बढ्को हो ।

म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दर्खास्त बुझाउन सक्ने र नेपाल सरकारले छनोट गर्ने छनोट प्रक्रियामा विशेष गरी पूर्वनेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई प्रथमिकता दिइने उनको भनाइ छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत सात हजार २००, पोशाक र अन्यखर्च गर्ने गरी ६ हजार, यातायात खर्च वापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>