देश/प्रदेश

अब आवेदन दिएकै एक सातामै लाइसेन्स परीक्षा दिन पाइने

Banner

काठमाडौँ, चैत ८-

नेपालमा अब चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन दिएको एक हप्ताभित्र परीक्षा हुने व्यवस्था गर्ने तयारी भएको छ ।

यातायात व्यवस्था विभाग, काठमाडौंले अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि यस्तो व्यवस्था गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिएका हुन् ।

आवेदकको चाप अत्यधिक भएको भन्दै विभागले केही दिनअघि सूचना प्रकाशित गरी अनिश्चितकालका लागि आवेदन प्रणाली बन्द गराएको थियो ।
विभागका अनुसार हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ । यो परेको आवेदन आगामी जेठ १६ गतेभित्र सक्ने गरी विभागले तयारी गरिरहेको सूचना अधिकारी भुसालले जानकारी दिए ।

विभागले परीक्षा कोटा बढाएर तीन सिफ्टमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । विभागको सूचना प्रविधि शाखाले बिहान, दिउँसो बेलुका गरी तीन सिफ्ट गरेर देशैभरका यातायात कार्यालयहरूबाट परीक्षा लिइने कार्यतालिका तयार गरिरहेको छ ।

लाइसेन्स आवेदन प्रणाली खुला भएपछि आवेदन दिएकै हप्ताभित्र परीक्षा दिन पाउने गरी व्यवस्था गरिने सूचना अधिकारी भुसालको भनाइ छ। उनले भने, ‘हामी सीमित आवेदन लिन्छौं र परीक्षा सकाइहाल्छौं । परीक्षा सकिएपछि पुनः आवेदन खुलाउँछौँ । अब आवेदन दिएर धेरै समय कुर्नु नपरोस् भनेर हामीले यस्तो व्यवस्था गर्न लागेका हौं’, सूचना अधिकारी भुसालले भने।

हाल आवेदन दिएर परीक्षाका लागि वर्षौं कुर्नुपर्ने बाध्यता छ । कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ । विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुई महिना कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गरेको हा े।

यो जम्मा भएको चाप सकेर थोरै–थोरै आवेदन लिने र परीक्षा पनि लिइहाल्ने व्यवस्था मिलाउने विभागको योजना छ ।

देशभर २३ यातायात कार्यालय छन्। यी कार्यालयमध्ये पनि अध्यधिक चाप काठमाडौं उपत्यकाका कार्यालयहरूमा छ । उपत्यकाका यातायात कार्यालयले दैनिक पाँच सयदेखि एक हजारसम्मको परीक्षा सञ्चालन गर्दै आएको बताएका छन् ।

परीक्षा उत्तीर्ण गरेकाले पनि लामो समयदेखि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । नवीकरण गर्नेहरू पनि पर्खाइमा छन् । विभागले दैनिक ६ हजार यस्तो कार्ड छापिरहेको जानकारी दिएको छ । गत मंसिरमा आएको १४ लाख नयाँ कार्डमा अब साढे दुई लाख छाप्न बाँकी रहेको विभागले बताएको छ।

यसअघि स्मार्ट कार्ड अभावमा विभागले कारण छपाइ र वितरण पनि लामो समय बन्द गरेको थियो। गत मंसिरमा फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख स्मार्ट कार्ड उपलब्ध गराएसँगै २०७७ फागुनदेखि ठप्प लाइसेन्सको छपाइ पुसदेखि सुरु भएको हो।

त्योभन्दा अगाडिको समयमा विदेश जानुपर्ने तथा अत्यावश्यक सेवाग्राहीलाई मात्रै लाइसेन्स उपलब्ध गराउँदै आएको थियो। कार्ड आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन। निषेधाज्ञा समयमा लाइसेन्स छपाइ पनि रोकिएको थियो।

लामो समयसम्म स्मार्ट लाइसेन्स छपाइ बन्द हुँदा अहिले लाखौं चालकहरू स्मार्ट लाइसेन्सबाट बञ्चित छन् । नवीकरण गर्नेहरूले पनि वर्ष दिनभन्दा बढी कुर्नु परेको छ। उनीहरू राजस्व तिरेको रसिदलाई लाइसेन्सका रूपमा प्रयोग गर्न बाध्य छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>