चितवन विशेष
सप्तगण्डकी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई अभिमुखीकरण

चितवन, चैत ८-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले बीसीए पहिलो सेमेस्टरका विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकायअन्र्तगत स्नातक तहमा पहिलो समेस्टरका विद्यार्थीहरुलाई क्याम्पसले विषयको महत्व र पाठ्यक्रमबारे जानकारी दिन अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन ताराकान्त भुसालले प्रविधिलाई कलासँग सहीरुपमा जोड्नको लागि नै मानविकी संकायमा बीसीए कोर्स राखिएको बताए । उनले भने, ‘ आजको विश्व बजारको आवश्यकता अनुसारको कोर्स छ । विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउँदा विशेष ध्यान दिनुपर्छ । विभिन्न विषय पढेर आउनेहरुले पनि पढ्न सक्ने गरी कोर्सको डिजाइनिङ गरिएको छ ।’
कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष बालकृष्ण पौडेलले आजको युग सूचना प्रविधिको युग भएकोले यस विषयमा अध्ययन गर्ने विद्यार्थीहरुमा धेरै मेहनतको आवश्यकता पर्ने बताए । उनले भने, ‘ प्रविधि क्षेत्रमा लाग्ने विद्यार्थीहरु शिक्षक भन्दा पनि चलाख हुनुपर्छ । आजको पुस्तालाई छल्न नसकेमा भोलि आउने चुनौतीलाई सामना गर्न सक्दैन ।’
कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले बीसीएमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानको आवश्यक पर्ने बताए । उनले भने, ‘प्रविधि भनेको दैनिक परिवर्तन हुने विषय हो । आजको विश्वव्यापीकरणको युगमा संसारलाई मुठिमा चलाउने विषय पनि सूचना प्रविधि नै हो ।’ उनले बीसीएका विद्यार्थीहरुलाई भ्रमण, अध्ययन, अवलोकन र गेष्ट लेक्चरको व्यवस्था गरेकोले सिकाइ प्रभावकारी बन्दै गएको बताए । उनले यस विषयको जनशक्ति अभाव नै रहेकोले विद्यार्थीहरुले पढाइ पूरा गर्ने बित्तिकै रोजगारीको अवसर पाउने गरेको विचार राखे ।
क्याम्पस प्रमुख महतोको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका मानविकी र समाजशास्त्र विभागका सहप्राध्यापक शुक्रराज अधिकारी, सहायक क्याम्पस प्रमुख टीकाराम देवकोटा, बीबीए र बीआईएम कार्यक्रम संयोजक अनुज जोशीलगायत सामाजिक शास्त्र र अन्य विषयका प्राध्यापकहरुको उपस्थिति रहेको थियो । बीसीए कार्यक्रम संयोजक जीवन पण्डितले संयोजन गरेको कार्यक्रममा ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

























