Breaking News

निर्वाचन आयोगलाई शंका गर्दै ओलीले भनेः फेरि सेटिङमा भरतपुर घटना दोहोरिने सम्भावना देखियो

Banner

काठमाडौं, चैत ७-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगमाथि गम्भीर शंका गर्दै फेरि भरतपुर महानगरमा मतपत्र च्यातिएको घटना दोहोरिने सम्भावना देखिएको आरोप लगाएका छन् ।

एमालेको पहिलो पोलिट्व्यरो बैठकमा ओलीले निर्वाचन आयोगका पछिल्ला गतिविधिले सिरहा र भरतपुर घटना दोहोरिने संकेत गरेको भन्दै यसपटक मतपेटिका आँखाबाट ओझेल पर्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताए ।

नेकपा एमालेको फूटमा निर्वाचन आयोगको भूमिका मतियारका रुपमा देखिएको भन्दै अहिले पनि सत्तारुढ दलसँग सेटिङ गरेको आरोप लगाए ।
‘निर्वाचन आयोगले गलत मनसाय राखेर गएको थाहा पाउँदा पाउँदै सत्तारुढ दलसँगको मिलेमतोमा एमाले फूटाउनेहरुलाई दलको मान्यता दियो’, ओलीले भने, ‘सत्तारुढ दलकै मिलेमतोमा निर्वाचन आयोगले रङ पनि बदलेको छ ।’ उनले कांग्रेसको रुख हरियो बनाउन हरियो रङको प्रयोग गरिएको बताए ।

‘विगतमा सुनसरी तीन नम्बर क्षेत्रमा ढोका हुँदा हुँदै झ्यालमा भ¥याङ हालियो र मतपेटिका हेराफेरि नसकिँदासम्म भ¥याङबाटै ओहोरदोहोर गरियो’, ओलीले भने, ‘अहिले एमालेकै बहुमत आउँछ भनेर नजाँनिदो रुपमा चुनाव सार्ने खेल पनि चलिरहैकै छ ।’ उनले एमालेले सचेततापूर्वक निर्वाचनमा भाग लिन लागेको भन्दै निर्वाचन आयोगलाई रित्तो पार्ने विषयमा पनि षडयन्त्र भइरहेको बताए । ‘तीनजना आयुक्तको नियुक्ति खारेज गरेर दुईजनाबाट निर्वाचन गराउन सकिन्छ÷सकिँदैन भनेर बहस भइरहेको छ’, ओलीले भने, ‘त्यसो गर्दा आयोगले नै सकिँदैन भनेर निर्वाचन सार्न पाइयोस् भन्ने गठबन्धनको चाहना छ ।’

ओलीले संसदमा महाअभियोग प्रस्ताव दर्ता भएर निलम्बनमा रहेका चोलेन्द्रशमशेर जवराको बचाउ गरेका छन् । महाअभियोग एमालेको फैसला प्रभावित गर्नका लागि मात्र आएको भन्दै प्रधानन्यायाधीशको बचाउ गरेका हुन् । ‘सरकार गठनको सात महिनापछि अनौठो ढंगले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जवरामाथि महाअभियोग लगाइएको छ । हाम्रो पार्टीबाट अनुशासनहीन काम गरेर निस्काशन गरिएका १४ जनाको मुद्दा भोलि पेशीमा चढ्दैछ भनेपछि अघिल्लो दिन सत्तारुढ गठबन्धनको दलको बैठक बसेर यदि महाअभियोग नलाउने हो भने हामीलाई हराइदिन्छ भन्ने अनुमानका भरमा महाअभियोग लगाइएको छ’, ओलीले भने, ‘यथार्थ के त्यो हो त होइन नि ! २२ वटा अभियोग लगाइएको छ । तर, लगाउन त जे लगाइदिए नि भइहाल्यो नि ।’ उनले देउवा प्रचण्ड सरकारले विगतमा पनि त्यही गरेको भन्दै अहिले पनि अनुमानकै भरमा महाभियोग लगाएको बताए ।

‘फैसला त्यस्तो आउने हो होइन थाहा छैन । अनुमानकै भरमा फागुन १ गते महाभियोग लगाइयो’ ओलीले भने, ‘प्रस्तुत हुने मुद्दाको सन्दर्भमा उत्पन्न भएको त्रास, त्यो मुद्दाको न्यायिक परिणामलाई दुस्प्रभावित गर्ने शासकीय सत्ताधारीहरुको कुचेष्टा र न्यायलयलाई आफ्नो दबाबमा राख्ने प्रयासका रुपमा महाभियोग आएको हो ।’ प्रधानन्यायाधीशमाथि लगाइएका आरोप यथार्थ नभएको दाबी गरेका उनले आफ्नो पार्टी व्यक्ति विशेषको विरोध वा पक्षपोषणमामा भने नलाग्ने बताए ।

‘हामी कुनै व्यक्ति विशेषको विरोधमा रुची राख्दैनौँ, पक्षपोषणमा रुची राख्दैनौ । हामी न्यायलय मर्यादित होस् भनेर सोच्छौं’, ओलीले थपे, ‘बार एशोसिएशनका क्रियाकलाप हामीले देखेका छौं । वरिष्ठ अधिवक्ताका हर्कत हामीले देखेका छौं । वकिलले भनेका न्यायाधीसको नाङ्गो सेटिङ हामीले देखेका छौं । हामी चाहन्छौं यस्ता क्रियाकलाप नहुन् । हामी निस्पक्ष न्यायलय देख्न चाहन्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>