Breaking News
मूल्यवृद्धि नियन्त्रणको माग गर्दै निर्माण व्यवसायी संघ चितवनबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चितवन, चैत ६-
निर्माण व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
अहिले सबै प्रकारका निर्माण सामग्रीहरुमा मुल्यवृद्धि लगभग दोब्बर हुन पुगेको र त्यसले गर्दा साना निर्माण व्यवसायीले मूल्यवृद्धि समायोजन नपाउँदा धरासायी बन्ने र जिम्मा लिएका आयोजना सम्पन्न हुन नसक्ने अवस्था रहेको ज्ञापनपत्रमा उल्लेख छ । २०६३\६४ मा यसरीनै मूल्यवृद्धि समायोजनका लागि मुल्यवृद्दि निर्देशिका भाग–१ जारी गरिएको उदाहरण पेस गर्दै त्यस्तै भाग–२ जारी गरेर भए पनि मूल्यवृद्धि समायोजन दिनुपर्ने अन्यथा सम्पूर्ण निर्माण कार्य बन्द गर्दै कन्स्ट्रक्सन होलिडेलगायतका आन्दोलन अघि बढाउने चेतावनीसहित मूल्यवृद्धि समायोजनको माग सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्ने गरी ज्ञापनपत्र हस्तान्तरण गरिएको संघका अध्यक्ष केशवप्रसाद लामिछानेले बताए ।
प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सोही कार्यक्रमकै बीच जिल्ला प्रशासन भित्रकै निर्माण साइडसमेत अहिलेको चरम मूल्य बृद्धिले अघि बढ्न नसकेको स्वीकार गर्दै यसबारे आफू जानकार रहँदा रहँदै पनि नीति, नियम, कानुनले व्यवहारिक पक्षलाई ओझेलमा पारिदिएको भन्दै ज्ञापनपत्र यथासीघ्र प्रधानमन्त्रीज्यूमा पु¥याउने प्रतिबद्दता व्यक्त गरे ।

























