Breaking News
भरतपुरका टोल-टोलमा आपतकालिन राहत कोष स्थापना गर्दै सांसद सुवेदी

चितवन, चैत ५-
बागमती प्रदेश सांसद विजय सुवेदीले भरतपुरका विभिन्न टोलमा आपतकालिन राहत कोष स्थापना गरेका छन् । आर्थिकरुपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा सांसद सुवेदीले राहत कोष स्थापना गरेका हुन् ।
आज भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत् वडा नम्बर २ को मिलन टोल र ११ को सिद्धार्थ टोलमा आपतकालिन कोष स्थापना गरी आर्थिक सहयोग गरेका छन् । हरेक कोषमा सुवेदीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

यसअघि उनले भरतपुर महानगरपालिका–२ को इन्द्रेणी टोल, ११ को दरबारचोक टोल र १२ को नवरत्न टोलमा कोष स्थापना गरेका थिए । टोलभित्र आइपर्ने विपद्मा तत्काल सहयोग जुटाउन, गरिब तथा विपन्नलाई उपचारमा सहयोग गर्न कोषको रकम उपयोग गर्ने गरी कोष स्थापना गरिएको सांसद सुवेदीले बताए । मानवीय शहरको परिकल्पना स्वरुप यो अभियानको थालनी गरिएको उनको भनाइ छ । टोलभित्रका सदस्यलाई विपद्मा तत्काल आर्थिक सहयोग जुटाएपछि सो रकम कोषमै फिर्ता गर्नुपर्ने कार्यविधि बनाइएको छ । तर, गरिब तथा विपन्नले भने रकम फिर्ता गर्नुपर्ने छैन । गतवर्षबाट सुरु गरिएको राहत कोषको प्रभावकारिता बढेपछि सांसद सुवेदीले यसलाई निरन्तरता दिने भएका छन् । उनले अन्य टोल विकास संस्थामा पनि यस्ता कोषहरु स्थापना गर्ने र गरिब तथा विपन्न नागरिकलाई सहयोग गरिने बताए ।

कार्यक्रममा भरतपुर–११ का वडाध्यक्ष बाबुराम अधिकारी, इन्द्रेणी टोलका अध्यक्ष मिलनकुमार लामा, मिलन टोलका अध्यक्ष लक्ष्मण सुवेदी, गणेशस्थान टोलका अध्यक्ष राजनकुमार श्रेष्ठले सांसद सुवेदीले जन्मोत्सवमा सबैलाई सामाजिक कार्य गर्न प्रेरणा दिएको बताएका थिए । उनीहरुले टोलमा प्रत्यक्षरुपमा नागरिक जोडिने गरी सांसदले सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे । कोषमा हरेक सदस्यले स्वेच्छाले मासिक १०० रुपैयाँ बचत गरेर कोषको रकम वृद्धि गर्न सक्ने प्रदेश निर्वाचन क्षेत्र नागरिक समन्वय समितिका संयोजक सन्तोष पन्तले जानकारी दिए ।

























