Breaking News

भरतपुर महानगरको मेयरमा उठ्न म तयार छु, गठबन्धनको पक्षमा हामी छैनौंः नेता गुरुङ

Banner

चितवन, चैत ३-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवन कांग्रेसका पूर्वसभापति टेकप्रसाद गुरुङले पार्टीले टिकट दिए आफू कांग्रेसबाट मेयरमा उठ्न तयार रहेको बताएका छन् ।

समाजिक सञ्जालमा नेता गुरुङको बारेमा मेयर पदका लागि चर्चापरिचर्चा हुन थालेपछि नारायणी अनलाइनसँगको कुराकानीमा नेता गुरुङले सो विचार राखेका हुन् ।

उनले पार्टीभित्रका साथीहरुले मेयरमा उठ्नुपर्छ भनेर अनुरोध गरिरहेको खुलासा गरे । उनले भने, ‘ अहिले व्यक्तिगत सोच त मेरो छैन तर साथीहरुले उठ्नुपर्छ भनेर अनुरोध गरिरहनुभएको छ । अनुभव र परिपक्कताको हिसाबले सबैलाई मिलाएर लैजान सक्ने भनेर साथीहरुको अनुरोध आएको छ । पार्टीको सिपाही भएकोले पार्टीले मेयर पदमा टिकट दिए म लड्न तयार छु ।’

कांग्रेस केन्द्रीय सदस्य गुरुङले मेयर रेनु दाहाल फेरि दोहोरिने वा नदोरिने भन्ने कुरा माओवादीको कुरा भए पनि आफू चितवनमा कुनै गठबन्धन नगरी कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले भने, ‘ म गठबन्धन विरोधी त होइन तर चितवनमा अब गठबन्धन गर्नु हुँदैन भन्ने पक्षमा छु । कहिले हलोमा त कहिले हँसिया हतौडामा भोट हालियो अब त्यस्तो अवस्था आउनु हुँदैन ।’ पार्टी नेतृत्वले चितवन कांग्रेसलाई निर्वाचनमा उम्मेदवार छान्न र एक्लै लड्न स्वतन्त्र छाड्नुपर्ने गुरुङको दाबी छ । उनले भने, ‘कुनै हालतमा गठबन्धनमा चितवन कांग्रेस जानु हुँदैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>