चितवन विशेष

चितवनमा आदर्श नारी केन्द्रले दियो ४४ विद्यार्थीलाई छात्रवृत्ति

Banner

चितवन, चैत १-

११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आदर्श नारी विकास केन्द्र चितवनले जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत कम अवसर प्राप्त छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

विभिन्न घटनामा परेका, हिंसा प्रभावित, द्वन्द्व प्रभावित, गरिब तथा जेहेन्दार ११ विद्यालयका ४४ जना छात्राहरुलाई आदर्श छात्रवृत्ति वितरण गरिएको हो ।

छात्राहरुले झोला, ड्रेस, कापीकलमलगायतका शैक्षिक सामग्री प्राप्त गरेका छन् । आठ वर्ष अघिदेखि निरन्तर वितरण गर्दै आएको छात्रवृत्ति हालसम्म ४४८ ले प्राप्त गरिसकेको संस्थाकी अध्यक्ष मीना खरेलले जानकारी दिइन् । सबै प्रकारका घरेलु हिंसा, मानव बेचबिखन, बलत्कारजस्ता जघन्य अपराधको अन्त्यका लागि विगत ३० वर्षदेखि अभियान चलाइरहेको आदर्श नारी विकास केन्द्रले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आज छात्रवृत्ति वितरण गरेको हो ।

संस्थाले महिला तथा बालबालिकामाथि हुने हिंसा, शोषण, दमन र अन्यायको विरुद्ध निरन्तर अग्र स्थानमा रही खबरदारी गर्दै आएको छ । घटनामा परेर पढाई छोड्न बाध्य बालिकादेखि द्वन्द्वका कारण अभिभावक गुमाएका र आर्थिक रुपमा विपन्न बालिकाहरु छात्रवृत्तिबाट लाभान्वित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले आदर्श नारीले सामुदायिक विद्यालयको भित्र शिक्षा सुधारमा खेलेको भूमिका प्रशंसायोग्य भएको बताए । सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि महानगर, आदर्श नारी जस्तो संस्थासँग समन्वय गरेर अगाडि बढ्न तयार भएको उनको भनाइ थियो । आर्थिक अभावका कारण पढाई छोड्न बाध्य बालबालिकालाई लक्षित गरी महानगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई महानगर छात्रवृत्तिको काम सुरु गरेको पौडेलले जानकारी दिए । यसैगरी महिनाबारीको समयमा विद्यालय छुट्ने छात्रालाई लक्षित गरी महानगरका सबै सामुदायिक विद्यालयमा एक वर्षलाई पुग्ने गरी सेनेटरी प्याड वितरण गरिएको पनि उनको भनाइ थियो ।

कार्यक्रममा शिक्षक कल्पना पन्तले सामुदायिक विद्यालयका छात्राहरुलाई केन्द्रित गरी छात्रावृत्ति वितरण गर्दा छात्राहरुको शैक्षिक प्रोत्साहनमा थप टेवा पुगेको बताइन् । वडा नम्बर ४ वडाध्यक्ष हरिप्रसाद आचार्य आदर्श छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनेको उल्लेख गरे । द्वन्द्वपीडित, हिंसाप्रभावित, कम अवसर प्राप्त विद्यार्थीलाई यस्ता कार्यले नयाँ दिशा दिनेछ, नयाँ मार्ग प्रसस्त गर्ने उनको भनाइ थियो । वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले विभिन्न हिंसामा परेका विद्यार्थीहरुको जन्मदर्तामै समस्या छ भएको र राज्यले दिने शैक्षिक सेवा सुविधाबाट बञ्चित बनेका छात्राहरुलाई आदर्शले नियमित छात्रवृत्ति प्राप्त गरेको बताए । राज्यले गर्नुपर्ने कार्य आदर्शले गरेको छ । उनले भने, ‘घटनामा परेको सडकमा आएका बच्चाको नागरिकता र जन्मदर्ता नहुँदा राज्यका सेवा सुविधाबाट बञ्चित हुनुपरेको छ ।’

विद्यार्थी सीमा परियारले यस कार्यले आफूजस्ता विद्यार्थीको पढाइमा थप पोत्साहन पुगेको बताउँदै भोलिको भविष्यको लागि आज संस्थाले गरेको सहयोग महत्वपूर्ण भएको बताए ।संस्थाका उपाध्यक्ष उषा खरेल सुवेदीले कुनै पनि बालबालिका आर्थिक अभावका कारण पढाइबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण कार्य अगाडि बढाइएको बताइन् ।

यसैगरी, सोहीअवसरमा आदर्श नारी विकास केन्द्रको विधानअनुसार गठित आदर्श नारी कालिका नगर समन्वय सम्पर्क समितिलाई सम्बन्धनपत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष मीना खरेलले सम्पर्क समितिका संयोजक अर्पणा दुवाडीलाई भरतपुर नगर शिक्षा अधिकारीको रोहवरमा सम्बन्धनपत्र हस्तान्तरण गरिएको हो । कार्यक्रम संस्थाका सचिव पृथ्वीदेवी सुवेदीले सञ्चालन गरेको कार्यक्रममा भरतपुर महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशिला वाग्ले, कार्यपालिका सदस्य पवित्रा केसी, विभिन्न संघसंस्थाका प्रतिनिधि , शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>