Breaking News
भरतपुरको वागेश्वरीमा मृतक गाईको किरिया बस्दै योगी निरञ्जननाथ

पूजा ढकाल
चितवन, फागुन ३०
मान्छेको मृत्यु हुुँदा किरिया बसेको देखेका छौं, सुनेका पनि छौं । तर, गाईको मृत्यु पश्चात मान्छे किरिया बसेको सुन्दा अचम्म लाग्नसक्छ । यतिबेला चितवनको भरतपुरस्थित वागेश्वरीमा रहेको वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित गौ संरक्षण केन्द्रमा एक व्यक्ति गाईको किरिया बसेका छन् ।
गौशालामा संरक्षणका लागि राखिएका एक गाईलाई बाघले खाएपछि र अर्काे गाई पोलमा ठोक्किएर मरेपछि १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका योगी निरञ्जन नाथ गाईको किरिया बसेका हुन् । उनले मानिसको मृत्यु हुँदा गरिने हिन्दू संस्कार अनुसारका कर्म गरेका छन् । १३ दिनको किरिया बसेका उनले सोमबार ८ औं दिनको कर्म पूरा गरेका छन् । गौशालामा पालिएका गाई पनि आफ्नो माता सरह भएको भन्दै उनले किरिया बसेको बताए । बिगत चार वर्षदेखि आफू क्यान्सर पीडित भए पनि गाईका कारण सबै रोग निको भइसकेको उनले बताए ।
२०५० सालमा स्थापना भएको गौ संरक्षण केन्द्रमा सुरुवाती चरणमा ३०० गाई रहेकोमा अहिले घट्दै गएर १८२ वटामा झरेका छन् । गाई क्रमशः घट्दै गएकोमा संरक्षणकर्मीमा चिन्तित बनेका छन् । मृत गाईहरुको आत्मा शान्तिको लागि पनि मान्छेको जस्तै काजकिरिया गर्न थालिएको वागेश्वरी आध्यात्मिक परिसद् योज्ञी नरहरिनाथ आश्रमका महासचिव भोजराज भट्टराई बताउँछन् ।
गाई नेपालको राष्ट्रिय जनावर हो । तर, यसको संरक्षणमा राज्यले चासो नदिएको संरक्षणकर्मीको गुनासो छ । गौं सरक्षण केन्द्रमा पालिएका गाईलाई पनि आर्थिक अभावका कारण व्यवस्थितरुपमा पाल्न सकिएको छैन । दाताहरुको भरमा गौशाला सञ्चालन गर्नुपरेको वागेश्वरी आध्यात्मिक परिषद् योज्ञी नरहरिनाथ आश्रमका संयोजक रामप्रसाद वस्ती बताउँछन् ।
























