Breaking News

अण्डाको मूल्य बढ्यो, किसानलाई भन्दा व्यापारीलाई फाइदा

Banner

चितवन,फागुन २६-

नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३९५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको छ ।

यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३६५ र मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३३५ रुपैयाँ थियो । बढेको मूल्य अनुसार प्रतिअण्डाको गेट मूल्य १३ रुपैयाँ १६ पैसा भए पनि उपभोक्ता मूल्य भने १६ रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ताको भान्सामा दैनिकजसो उपभोग हुने अण्डाको मूल्य बढ्दा किसानलाई भन्दा बिचौलिया तथा व्यापारीलाई बढी फाइदा हुने गरेको छ । मूल्य बढे पनि अहिले किसानले पाउने प्रतिगोटा अण्डा १३ रुपैयाँ १६ पैसा मात्र हो । किसानबाट व्यापारीसम्म आइपुग्दा ढुवानी चार्ज जोडेर १६ रुपैयाँ उपभाक्ता मूल्य राखिएको छ । तर यसअघि अण्डाको गेट मूल्य १२ रुपैयाँ १६ पैसा हुँदा पनि व्यापारीले सर्वसाधारण उपभोक्तासँग १७ रुपैयाँसम्म लिने गरेका थिए । अब संघले नै उपभोक्ता मूल्य १६ रुपैयाँ राखेपछि व्यापारीले उपभोक्तासँग १८ देखि १९ रुपैयाँसम्म लिन सक्ने बताइएको छ ।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले किसानले पाउने मूल्य लागतभन्दा खासै धेरै नभएको बताए । उनका अनुसार अहिले पनि एउटा अण्डाको लागत मूल्य १३ रुपैयाँ हाराहारी छ । साँच्चै अण्डा उत्पादक किसानले नाफा पाउने गरी मूल्य राख्ने हो भने प्रतिक्रेट ४५० रुपैयाँ अर्थात् अण्डाको गेट मूल्य १५ रुपैयाँ पुर्‍याउनुपर्ने उनको तर्क छ ।

पछिल्लो समय नेपालमा अण्डाको माग बढेको र उत्पादन घटेकाले मूल्य बढाउनुपरेको संघले बताएको छ । यसबाहेक पोल्ट्री दानाको कच्चापदार्थको मूल्यवृद्धिको असर अण्डाको मूल्यमा परेको संघको जिकीर छ । यसअघि नेपालमा प्रतिदिन ३८ लाख अण्डा उत्पादन हुने गरेको भए पनि अहिले उत्पादन घटेर ३४ लाखमा सीमित रहेको संघले बताएको छ । दानाको मूल्य बढ्दा अधिकांश किसानले कुखुरा पाल्न नसक्ने अवस्था आएको छ । कुखरापालन घटेकाले उत्पादनमा ह्रास आएको हो ।

दानाको मुख्य कच्चापदार्थको रूपमा रहेको भटमासको मूल्य १ वर्ष अवधिमा प्रतिकिलो ५५ रुपैयाँ र मकैको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ । पछिल्लो समय चिनियाँ व्यवसायीले भटमास लगायत कच्चापदार्थको खपत अत्यधिक बढाएकाले अन्य देशमा यसको अभाव भएको छ । सोही कारण मूल्य बढेको हुन सक्ने दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>