चितवन विशेष

चितवनका थारु महिलालाई कानुनी शिक्षा

Banner

चितवन, फागुन २५–

चितवनका थारु समुदायका महिलाहरुलाई कानुनी शिक्षा दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

थारु आयोगको आयोजनामा भरतपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले समुद्घाटन गरे । सो क्रममा बोल्दै उनले थारु महिलाहरुलाई कानुनी चेतना दिने उद्देश्यले कार्यक्रम गरिएको बताए । उनले यस कार्यक्रमले विद्यमान कुरिती र अन्धविश्वासलाई अन्त गर्न सघाउने पु¥याउनेमा विश्वास व्यक्त गरे ।

थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले यस कार्यक्रमले महिलाहरुले आफ्नो हकअधिकार बारे जानकारी पाउनुका साथै कानुनी शिक्षा समेत प्राप्त गर्ने भएकाले कानुनी लडाई लड्नका लागि प्रेरणा मिल्नेमा विश्वास व्यक्त गरे । दुईदिनसम्म चल्ने कार्यक्रममा महिलाको हकअधिकार, हिंसापीडित महिलाहरुको कानुनी उपचार र पुर्नस्थापना सम्बन्धी कानुनी र व्यवहारगत ज्ञान प्रदान गरिने छ । उद्घाटन सत्र थारु आयोगका देवराज भट्टराईले संचालन गरेका थिए ।

कार्यक्रमको पहिलो दिन अधिवक्ता नन्दलाल महतोले विवाह, दाईज, सम्बन्ध विच्छेद र सम्पत्ति सम्बन्धी अधिकारको बारेमा प्रशिक्षण दिएका थिए । उनले सहभागिहरुले राखेको जिज्ञाशालाई उदाहरण दिँदै प्रष्ट पारेका थिए ।

यस्तै भरतपुर महानगरपालिकाकी महिला विकास अधिकृत शान्ता कुमारी पौडेलले महिला हकअधिकार सशक्तीकरण र महानगरको महिला लक्षित कार्यक्रम तथा बजेट सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

पहिलो दिनको कार्यक्रममा अधिवक्ता एवं मानव अधिकार संरक्षण मञ्च चितवनकी अध्यक्ष कल्पना उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम अन्तरगत भोलि (बिहीबार) भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले ओसीएमसीमा हिंसापीडित महिलाको व्यवस्थापन, माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी कुमारी महतोले न्यायिक समितिको कार्यक्षेत्र र न्यायमा महिलाको पहुँच, जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी परामर्शको विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>