Breaking News
भरतपुरको हवाइ भाडा १०५ देखि १३० रुपैयाँसम्म बढ्यो (सूचीसहित )

चितवन, फागुन २१-
भरतपुरबाट विभिन्न गन्तव्यमा हुने हवाइ यात्राको भाडा वृद्धि भएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघले १०५ देखि १३० सम्म हवाइ भाडादर वृद्धि गरेको हो । इन्धनको मूल्य बढेसँगै भरतपुर विमानस्थलबाट हुने उडानसहित देशभरको हवाइ भाडा वृद्धि भएको छ । संघको अनुसार भरतपुरबाट काठमाडौँ हुने उडानमा १०५ रुपैयाँ बढेर नयाँ भाडादर १४५५ रुपैयाँ पुगेको छ । यसअघि यो रुटको भाडा १३५० रहेको थियो । त्यसैगरी भरतपुर पोखराको उडानमा ११५ र भरतपुर–भैरहवाको उडानमा १३० रुपैयाँ वृद्धि भएको छ । भरतपुरबाट भैरहवासम्मको भाडादर १८१० र पोखराको १५१० पुगेको छ ।
दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो। मूल्य समायोजनसँगै संघले शनिबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ हवाई भाडादर आइतबारबाट लागू हुने संघले जनाएको छ । निगमले १२६ बाट १३६ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो।

























