Breaking News

नेपाली कांग्रेस चितवनको सभापतिमा खनाल निर्वाचित, श्रेष्ठको समर्थन पनि खनाललाई

Banner

चितवन, फागुन २१-

नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् ।

अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस चितवनको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने तयारी भएको थियो तर एकाएक श्रेष्ठले खनाललाई समर्थन गरेपछि दोस्रो चरणको निर्वाचन टरेको हो । शुक्रबार भएको पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जानुपर्ने बाध्यता थियो । पाँच जना उम्मेदवारबीचको प्रतिस्पर्धामा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले धेरै मत ल्याएका थिए । संस्थापन इतरको कोइराला समूहले सभापतिको साझा उम्मेदवार चयन गर्न नसकेपछि चार जनाले एक्कै एक्लै चुनावको मैदानमा होमिएका थिए । शेखर कोइराला निकटका खनालले ७४६ र शेरबहादुर देउवा निकटका श्रेष्ठले ६६२ मत ल्याएका थिए ।

पहिलो चरणको मतदानमा अर्का उम्मेद्वार उत्तम जोशीले ४७२, प्रा. डा सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए । घिमिरे र जोशीले खनाललाई दोस्रो चरणको लागि समर्थन रहेको बताएका थिए । पहिलो चरणमा दुई हजार ८२० मत खसेकोमा १०२ मत बदर भएको थियो।

नवनिवाचित कांग्रेस चितवन सभापति खनाल अर्थशास्त्र प्राध्यापन पेसामा संलग्न रहनुको साथै नेविसंघको केन्द्रीय सदस्य, तरुण दलको जिल्ला सचिव र अध्यक्ष भएका थिए । पार्टीको उपसभापति पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । सचिवमा ८ र सहसचिवमा १० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । महासमिति सदस्य, कार्यसमितिका केही सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>