Breaking News

चितवन कांग्रेसको अधिवेशनः साझा उम्मेदवार छनोट गर्न कोइराला समूह असफल, चार जनाकै उम्मेदवारी

Banner

चितवन, फागुन १९-

नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि नारायणगढको नारायणी कला मन्दिरमा सुरु भएको छ ।

अधिवेशनमा संस्थापन देउवा समूहबाट मिलनबाबु श्रेष्ठको उम्मेदवारी दर्ता भए पनि कोइराला समूहबाट भने आधिकारिक उम्मेदवार छनोट हुन सकेन । सबैले आफ्नो अडान नछाडेपछि श्रेष्ठसहित कोइराला समूहबाट चार जना गरी जम्मा ५ जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आज बिहानसम्म कोइराला समूहबाट आधिकारिक उम्मेदवार छान्ने प्रयास गरे पनि अन्तत असफल भएका छन् । चितवन कांग्रेसका पूर्वसभापति टेकप्रसाद गुरुङले कोइराला पक्षबाट कोही पनि आधिकारिक उम्मेदवार नरहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ कसैले म आधिकारिक उम्मेदवार भने पनि त्यो व्यक्तिगत दाबी मात्र हो । अहिले भन्न सक्ने कुरा नै छैन । ’

दाबी विरोध पश्चात उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन हुने र त्यसपछि उम्मेदवारी फिर्ताको कार्यक्रम सम्पन्न भएपछि दिउँसो चार बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइए पनि सभापतिका उम्मेदवारले उम्मेदवारी फिर्ता गर्ने सम्भावना निकै कम रहेको कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए । उनले भने, ‘पहिलो चरणमा पाँच जनानै निर्वाचनमा भिड्छन् । दोस्रो चरणमा गएर मात्र कोइराला समूहको आधिकारिक उम्मेदवार छनोट हुन्छ ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन लागेको जिल्ला अधिवेशन विविध कारणले पटक–पटक तोकिँदै र रोकिँदै आएको अवस्थामा सुरु भएको हो । अधिवेशन सुरु भएसँगै नयाँ नेतृत्व चयनका लागि कसरत बढेको छ । सभापतिका उम्मेदवार राजेश्वर खनालले त भरतपुरमा पत्रकार सम्मेलन नै राखेर आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् । अन्य पदका आकांक्षीहरुले पनि आफूखुसी उम्मेदवारी दर्ता गरेका छन् । अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ भने तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्य पनि छान्ने तयारी रहेको छ ।

आज बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरेर बिहान ८ देखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन दर्ता भएको थियो । त्यस्तै दिउँसो १ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने र २ बजेसम्म मनोनयन उपर दाबी विरोधको कार्यक्रम रहको जनाइएको छ ।

काँग्रेस चितवनको नयाँ नेतृत्व चयनका लागि भोलि शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान प्रक्रिया अघि बढ्ने जनाइएको छ । मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर मतगणना गरिने जनाइएको छ । शुक्रबारको मतदानमा नेपाली कांग्रेस चितवनका विभिन्न वडाका वडा सभापति, प्रतिनिधिसभा र प्रदेशसभाका सभापति एवम् प्रतिनिधि र बुथ प्रतिनिधि गरेर दुई हजार ९०६ मतदाता सहभागी हुनेछन् ।

नेतृत्वका पाँच जनाको उम्मेदवारी

नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु उम्मेदवारी घोषणा लगायतका कार्यक्रम सञ्चालन तथा आफ्नो पक्षमा नतिजा पार्न मतदाता भेटघाटमा सक्रिय रहँदै आएका थिए । छन् । कांग्रेस चितवनको नेतृत्व सर्वसम्मत रुपमा चयनका लागि बुधबार राति अबेरसम्म भएको छलफल निष्कर्षमा पुग्न नसक्दा निर्वाचनमा जाने निश्चित  भएको हो ।

चितवन कांग्रेसको नेतृत्वको लागि हालका बागमती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठ संस्थापन पक्षका बनेका छन् भने संस्थापन इतरले साझा उम्मेदवार चयन गर्न नसकेपछि चार जनाले नै उम्मेदवारी दिएका छन् ।  संस्थापन इतर समूहबाट हालका जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, राजेश्वर खनाल र डा.सूर्यकान्त घिमिरेले उम्मेदवारी दिएका छन् ।  घिमिरे नेविसंघका पूर्व जिल्ला सभापति एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुन् ।

यसअघि कांग्रेस चितवनको सभापति पदमा आकांक्षा व्यक्त गरेका विजय भुषाल भने उम्मेदवारीबाट पछि हटेका छन् । काँग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुन लागि कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । निर्वाचनमा रहेका उम्मेदवारहरूले ५१ प्रतिशत मत ल्याउन नसके खण्डमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवार बीच दोस्रो चरणमा पुनः मतदान गर्नुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>