चितवन विशेष
भरतपुर महानगर र दुई विद्यालयबीच बस खरिदका लागि सम्झौता

चितवन, फागुन १८–
चितवनको भरतपुर महानगरपालिकामा रहेका साझापुर मावि मेघौली र श्री मावि ढड्ढाघारीमा विद्यालय बस खरिदका लागि भरतपुर महानगरपालिकाले दुई पक्षीय सम्झौता गरेको छ ।
बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारी र भोजराज पौडेलबीच स्कुल बस खरिद सम्झौतामा हस्ताक्षर गरेका छन् । बुधबार सम्पन्न स्कुल बस खरिद सम्बन्धी सम्झौता अनुसार भरतपुर महानगरपालिकाले सम्बन्धित विद्यालयलाई १० लाख ५० हजार रुपैयाँका दरले विद्यालयलाई रकम दिनेछ भने विद्यालयले बस खरिद गरी सञ्चालनमा ल्याउनेछ । उक्त कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले विद्यालयमा विद्यार्थीहरूको सहज पहुँच स्थापना गर्न सरकारी विद्यालयहरूलाई स्कुल बस दिने नीति लिएको बताउनुभयो ।
यसवर्ष साझापुर मावि मेघौली र श्री मावि ढड्ढाघारीलाई स्कुल बस प्रदान गरेको बताउँदै दाहालले तोकिएकै मितिमा बस खरिद गरी सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । सो अवसरमा दाहालले विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढाउन ठूलो लगानी गरेको दाबी गर्नुभयो । विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थीमैत्री कक्षाकोठा निर्माणका साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिरहेको दाहालले बताउनुभयो ।
महानगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल पाउन शुरू भएको भन्दै महानगर प्रमुख दाहालले पछिल्लो तीन वर्षमा करिब आठ हजार विद्यार्थी संख्या सरकारी विद्यालयमा बढेको समेत बताउनुभयो । शैक्षिक गुणस्तर वृद्धिको लक्ष्य लिएर आफूहरूले काम अगाडि बढाइरहेको समेत उहाँको भनाइ छ । सो अवसरमा स्कुल बस प्राप्त गर्ने श्री माध्यामिक विद्यालय ढड्ढाघारीका प्रधानाध्यापक गोविन्द प्रसाद सुवेदी र साझापुर मावि व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारीले संख्या वृद्धि र शैक्षिक गुणस्तर वृद्धिमा उल्लेख्य भूमिका खेल्ने विश्वास गर्दै भरतपुर महानगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले भरतपुर महानगरपालिकाले समग्र शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि कुल बजेटको १५ प्रतिशत बढी रकम परिचालन गरेको भन्दै स्कुल बस प्रदान गर्ने कामको प्रतिफल हासिल भइरहेको बताउनुभयो । विद्यालयको क्षेत्र फराकिलो भएका प्राविधिक शिक्षा सञ्चालनमा आएका र गरिब तथा विपन्न परिवारको बाहुल्यता रहेका क्षेत्र पहिचान गरी विद्यालय छ्नौट गरिएको बताउनुभयो । महानगरले हालसम्म नारायण नमूना मावि भरतपुर, प्रभात मावि शुक्रनगर, भीमनगर मावि भीमनगर, लक्ष्मी माविजगतपुर र कविलाश मावि जुगेडीलाई स्कुल बस प्रदान गरिसकेको छ ।






















