Breaking News

चितवनमा सेनाको हतियार चोरी प्रकरणः हिरासतभित्र क्रुर यातना दिएको भन्दै चार अधिकृतविरुद्ध किटानी जाहेरी

Banner

कुलप्रसाद काफ्ले-

चितवन, फागुन १६–

नेपाली सेनाको हतियार चोरी प्रकरणमा जबरजस्ती कबुल गराउन हिरासतभित्र क्रुर यातना दिएको भन्दै पीडितले सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी दिएका छन् ।

३० महिना जेल सजाय भोगिसकेपछि निर्दोष सावित भएका सेनाका पूर्व जवान लवकुमार गुरुङले चार अधिकृतविरुद्ध सरकारी वकिलको कार्यालय चितवनमा आइतबार किटानी जाहेरी दिएका हुन् ।

हतियार चोरेको आरोपमा सेनाका कालीबहादुर गण भरतपुरमा कार्यरत गुरुङ ५ पुस २०७५ मा पक्राउ परेका थिए । हतियार चोरेको आरोपमा उनीसँगै अमल्दार सरोज तामाङ पनि जेल चलान भएका थिए । निर्दोस सावित भएपछि १८ भदौ २०७८ मा चितवन कारागार भरतपुरबाट उनीहरु रिहा भएका हुन् ।

निर्दोस साबित भएर जेलबाट छुटेपछि लवकुमार १ पुस २०७८ देखि लागू हुने गरी स्वेच्छिक अवकास लिए भने तामाङ अहिले पनि कार्यरत छन् । लवकुमारले सेनाका तत्कालिन महासेनानी राजेन्द्रमणी गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्धय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी दिएका हुन् ।

आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी लिन नमानेपछि उनले सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका हुन् । सरकारी वकिलको कार्यालयले उनको किटानी जाहेरी दर्ता गरेको छ । जाहेरी दर्ताका लागि अधिवक्ता कुमारप्रसाद थपलिया र अधिकारकर्मी सिता भुजेलले सहजिकरण गरेका हुन् ।

‘मलद्धार र मुत्रनलीमा खुर्सानीको धुलो पसाइयो’

आरोप स्वीकार गराउनका लागि सेनाले आफ्नो नाक, मुख, मलद्धार र मुत्रनलीमा खुर्सानीको धुलो सिरिन्जमार्फत पसालेर चरम यातना दिइएको लवकुमारले बताएका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हँडिया स्थायी घर भई कालीबहादुर गणका तत्कालिन जवान लवकुमारले आफुलाई क्रुर यातना दिएर जबरजस्ती दोषी कबुल गराइएको बताए ।

आफुलाई अनाहकमा क्रुर यातना दिने अधिकृतलाई हदैसम्मको कारबाहीको माग गर्दै उनले किटानी जाहेरी दिएका हुन् । गणको सैनिक हिरासतभित्र रहँदाको समयमा मानसिक र शारीरिक यातना दिएर जबरजस्ती आफूलाई दोषी ठहर गरिएको जाहेरीमा उल्लेख छ ।

‘हतियार चोरेको भन्दै पक्राउ गरी हतकडी र आँखामा पट्टी बाँधेर, असह्य पीडा हुने गरी कुटपिट गरियो । कुटीकुटी बेहोस बनाएर झ्यालको डन्डीमा झुन्ड्याइयो । अनुसन्धानकै क्रममा हातखुट्टा बाँधेर नाक, मुख, मलद्वार र मुत्रनलीबाट खुर्सानीको धुलो भिजाएर सिरिन्जमार्फत भित्र पसाई चरम यातना दिइयो’ जाहेरीमा भनिएको छ ।

कसुर स्वीकार नगरेमा आफ्नो श्रीमतिलाई भारतको मुम्बईमा बेचिदिएर त्यहि पैसाले हतियार किन्छु भन्दै धम्क्याएर मानसिक यातना दिइएको उनले भनेका छन् । ‘यातना दिने क्रममा अण्डकोषमा डोरीले बाँधेर कतै बाँधिदिने गरेको’, जाहेरीमा थप भनिएको छ । अहिले पनि आफुलाई बस्न, सुत्न, उठ्न अरुको सहारा आवश्यक पर्ने गरेको उनले बताए ।

कसरी निर्दोश सावित भए ?

आफ्नै साथीको हत्याको आरोपमा ७ साउन २०७८ मा दि फेमश महिन्द्र दल गणमा कार्यरत सिपाही गंगाधर ढकाल पक्राउ परेपछि हतियार चोरीको वास्तविकता बाहिर आएको हो । चोरी भएको हतियार ९१००७९२ र वट नं ख २५० बाटै ढकालले सहकर्मी भरत गुरुङको हत्या गरेका थिए ।

घटनाको वास्तविकता बाहिरिएपछि १० वर्षका लागि जेल चलान भएको ३० महिनापछि सैनिक विशेष अदालतबाट लवकुमार र सरोज निर्दोस सावित भएका हुन् । हत्या आरोप लागेका गंगाधरविरूद्ध २५ वर्ष कैद सजाय तोकिएपछि उनी हाल कारागारमा छन् । –न्यूज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>