चितवन विशेष
भरतपुर ११ मा नेपालमै पहिलोपटक एमाले पार्टी सदस्यहरुलाई डिजिटल कार्ड वितरण

चितवन, फागुन १६-
भरतपुर महानगरपालिकाको ११ नम्बर वडामा एमालेका पार्टी सदस्यहरुलाई डिजिटल कार्ड वितरण सुरु भएको छ ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले कार्डमा हस्ताक्षर गरेर एमाले भरतपुर महानगरपालिका–११ का अध्यक्ष प्रकाश आचार्यलाई हस्तान्तरण गरेर कार्ड वितरण कार्यको सुरुवात गरिएको हो ।
एमालेको एप डाउनलोड गरे डिजिटल कार्डको सदस्यता नम्बर हानेर हरेक सदस्यले आफ्नो विस्तृत विरण पत्ता लगाउन सकिने व्यवस्था कार्डमा गरिएको छ । एमाले चितवनका अध्यक्ष न्यौपानेले अहिले वडा नम्बर ११ बाट सुरु गरिएको डिजिटल कार्ड वितरण भरतपुर महानगरका सबै वडामा क्रमशः वितरण गरिने जानकारी दिए ।
भरतपुर ११ का अध्यक्ष आचार्यले आजबाट कार्ड वितरण सुरु भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ अहिलेसम्म नेपालमा कुनै पनि पार्टीले गर्न नसकेको काम पहिलो पटक हामीले गरेका छौं ।’ उनले आजबाट वडाको टोलटोलमा पार्टीको कमिटीहरुको निर्माण र डिजिटल कार्ड वितरणसँगसँगै गरिएको जानकारी दिए ।
भरतपुर महानगरपालिकाको सबै वडाहरु मध्ये सबैभन्दा धेरै जनसंख्या भएको र एमाले पार्टी सदस्यहरु पनि धेरै रहेको वडामा पर्छ । यस वडाको जनसंख्या ४० हजार रहेको छ जुन संख्या माडी नगरपालिका र इच्छाकामना भन्दा पनि धेरै हो । यस वडामा एमालेका १२ सय बढी पार्टी सदस्यले सदस्यता नविकरण गरेका छन् ।
























