चितवन विशेष

भरतपुर महानगरपालिकाले बाड्यो २० लाख बढी छात्रवृत्ति

Banner

चितवन, फागुन १५-

भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ विद्यार्थीका लागि २० लाख ७६ हजार रुपैयाँ नगद रकम छात्रवृत्ति वितरण गरेको छ ।

महानगर भित्रका ६७ वटा विद्यालयका १ देखि ८ सम्मका लोपोन्मुख तथा अति सिमान्तकृत बालबालिकालाई प्रति विद्यार्थी तीन हजारका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको हो ।

भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार ११ वटा विद्यालयका २४० जना विद्यार्थीको हात हातमा सो रकम प्रदान गरेको जनाएको छ । महानगरपालिकाले बाँकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्ति रकम बैँक मार्फत् विद्यालयको खातामा पठाएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले बताए ।

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीको हातबाट ११ विद्यालयका २४० विद्यार्थीलाई एकै दिन सो रकम हात हातमा हस्तान्तरण गरिएको हो । लोपोन्मुख तथा अति सिमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस् भन्ने उद्देश्यका साथ भरतपुर महानगरले नेपालमानै पहिलो पटक यति धेरै रकम नगद छात्रवृत्ति दिएको छ ।

चेपाङका बालबालिकाले देशमा गणतन्त्र आएपछि पहिलो पटक यति धेरै नगद छात्रवृत्ति नेपालमानै पहिलो पटक भरतपुर महानगरले दिएको चेपाङ अभियन्ता तथा अभिभावक रामलाल प्रजाले बताए ।

यति धेरै विद्यार्थीका लागि यति ठूलो रकम सहयोग गर्ने स्थानीय तह भरतपुर महानगर नेपालकै पहिलो स्थानीय तह भएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए । यहाँका मेयर रेनु दाहाल र उपमेयर पार्वतीशाह ठकुरीको प्रयासका बाबजुत यो कामले सार्थकता पाएको पौडेल बताउँछन् । महानगरले शिक्षाको विकासका लागि महानगरको कुल बजेटबाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको उनले जानकारी दिए ।

भरतपुर महानगरले महानगरभित्रको शैक्षिक विकासमा धेरै ठूलो रकम लगानी गरेको महानगर प्रमुख रेनु दाहालले बताइन् । विकट मानिएको वडा नम्वर २९ को पहाडका विद्यालयदेखि महानगरका अरु वडाका सबै विद्यालयका विद्यार्थीका लागि आवश्यकताका आधारमा शैक्षिक विकास गरेको उनको भनाइ छ ।

विद्यालयको भैतिक पूर्वाधार विकास, पाठ्य सामग्रीको प्रवद्र्धन देखि विद्यार्थीका लागि छात्रवृत्ति, दिवा खाजा कायक्रम, स्कुल बस बितरण, साइकल बितरण लगायत अरु धेरै भौतिक तथा आर्थिक सहयोग गरेको दाहालको भनाइ छ ।

आफूहरुले महानगर भित्रको शिक्षाको विकासमा सुरुका चरण देखिनै विशेष अभियान थालेको र त्यसले विस्तारै पूर्णत पाउँदै गएको बताइन् । अहिले सरकारी विद्यालयमा विद्यार्थी भर्ना हुने क्रम बढेको र सरकारी विद्यालयको शिक्षाको गुणस्तर धेरै विकास भएको शाहको भनाइ छ । विपन्न समुदायका विद्यार्थीको हितमा महानगर निरन्तर लागिरहेको उनले बताइन् । महानगरले लक्ष्मी माध्यमिक विद्यालय, जन ज्योति मावि, वालकुमारी कन्या मावि र रामनगर माविमा कार्यक्रम गरी ११ विद्यालयका विद्यार्थीलाई नगद प्रदान गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>