खेलकुद

चितवनमा प्रदेश स्तरीय खेलकुदका लागि खेलाडी छनोट सुरु

Banner

चितवन, फागुन १४–

फागुन अन्तिम साता हुने बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्ला स्तरीय खेलाडी छनौट सुरु भएको छ ।

चितवनमा रहेका सात वटा स्थानीय तहबाट खेलाडी छनौट भएर आएका खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी बनाएर प्रदेश स्तरीय खेलकुदमा सहभागी गराइने जनाइएको छ । चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालले प्रदेश खेलकुदका लागि चितवनमा विभिन्न आठ वटा खेलका खेलाडी छनौट सुरु गरिएको बताउनुभयो । उहाँकाअनुसार शनिबार र आइतबार एथलेटिक्स र ब्याडमिन्टन खेलका खेलाडीहरुबीच प्रतिस्पर्धा गराएर जिल्ला स्तरीय खेलाडी छनौट गरिनेछ । एथलेटिक्सतर्फ दौड, लङजम्पसहित ट्रयाक एण्ड फिल्ड विधामा गरी १२ जना महिला तथा १२ जना पुरुष खेलाडी छनौट गरिने तथा ब्याडमिन्टनतर्फ ६ जना महिला र ६ जना पुरुष खेलाडीहरु छनौट गरिने ढकालले जानकारी दिनुभयो ।

ब्याडमिन्टनको छनौट खेल भरतपुरको कभर्डहलमा सञ्चालन भएको छ भने एथलेटिक्स विधाका सबै खेलहरु भरतपुर–१३ स्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलमा सञ्चालन भएका छन् । त्यस्तै विभिन्न खेलका गरी फागुन १९ गतेसम्म जिल्ला स्तरीय खेलाडी छनौटको काम हुने ढकालले बताउनुभयो । वाग्मती प्रदेश खेलकुद विकास समितिका सदस्य उत्तम गुरुङले लामो समय खेलकुदका गतिविधिहरु बन्द हुँदा खेलाडीहरुको वृत्ति विकासमा समस्या भएको उल्लेख गर्दै अब खेलकुदका गतिविधि शुरु हुँदा खेलाडीहरुमा उत्साह छाएको बताउनुभयो । खेलकुदका गतिविधिहरु शुरु हुन थालेपछि स्थानीय तहदेखि नै खेलका कार्यक्रमहरु हुने भएकाले खेलाडीको वृत्ति विकाससँगै आर्थिक क्षेत्र समेत चलायमान हुने गुरुङको भनाइ छ ।

जिल्ला स्तरीय छनौटमा सहभागी भएका खेलाडीहरु आगामी फागुन २८ देखि चैत ५ गतेसम्म हुने वाग्मती प्रदेश स्तरीय खेलकुद प्रतियोगितमा सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>