कालिका

मानव अधिकार आयोगको टोली चितवनमा, शक्तिखोरमा चुनखानीले बस्तीमा असर पुर्‍याएको निष्कर्ष

Banner

चितवन, फागुन १४-

राष्ट्रिय मानव अधिकार आयोगको टोली अनुगमनका लागि चितवनको शक्तिखोर पुगेर चुनखानीले बस्तीमा असर पुर्‍याएको निष्कर्ष निकालेको छ । चेपाङ बसोबास भएको शक्तिखोरको कोलारमा चुनढुंगा उत्खननले बस्ती, विद्यालय र वातावरणमा नै नकारात्मक असर परेको पाइएको हो ।

मानव अधिकार आयोगका उपसचिव हरि ज्ञवालीले भने, ‘चुनखानीले जनजीवन र वातावरणमा पर्ने असरहरूको व्यवस्थापनका लागि आईईई, ईआईए गर्नुपर्ने प्रावधान छ । तर कागजपत्र मिलाउने सन्दर्भमा मात्रै यसो गर्ने गरेको पाइन्छ ।’ कोलारमा मात्रै नभएर देशका अन्य विकास आयोजना र पूर्वाधार निर्माण क्षेत्रमा यस्तो खाले समस्या देखिएको उनले बताए । आयोगले नवलपुर र मकवानपुरका खानी र विकास आयोजनाहरूको अनुगमन गरेको उनले जानकारी दिए । टोलीका अर्का सदस्य आयोगका सहसचिव नवराज सापकोटाले विकासले विनाश निम्त्याउन नहुने बताए ।

सापकोटाले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनका काम गरेर खानी चलाएको भन्ने सञ्चालकले बताएका छन् । आयोगमा नै बोलाएर बुझ्नेछौं । ’ ‘पैसा पाएपछि जग्गा बेच्नु स्वभाविक नै भए पनि अल्पसंख्यक आदिवासी चेपाङ समुदाय पुरानो थातथलोबाट विस्थापित र अलपत्र पर्न सक्ने खतरातर्फ सबै सजग हुनुपर्ने उनको विचार छ । जग्गा बेचेर केहीले शक्तिखोर बजार छेउछाउ झरेको, केहीले जग्गा नै किन्न नसकेको उनले बताए ।

कोलार गाउँमा कक्षा ३ सम्म पढाइ हुने २० वर्ष पुरानो विद्यालयको अस्तित्वसमेत खानीका कारण संकटमा परेको पाइएको टोलीको अध्ययनको निष्कर्ष छ  । ३५ घरपरिवार बस्दै आएको कोलार कालिका–९ मा पर्छ । त्यहाँ स्टार लाइम कम्पनीले चुनढुंगा उत्खनन् गर्दै आएको छ । २०६३ जेठमा १५ घर चेपाङको नौ बिघाभन्दा बढी जग्गा किनेको सात वर्षपछि उत्खनन् सुरु भएको थियो ।

ईआईएमा भएको भन्दा पनि बढी खन्न थालेपछि बीचमा रोक्नुपरेको कालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ गोपीले जानकारी दिए । कालिका–९ का वडाध्यक्ष हेमबहादुर थापा अहिले कोलारका चेपाङ समुदायलाई प्रत्यक्ष मर्का परे पनि खानीले त्यहाँभन्दा माथि रहेको पौने तीन सय वर्ष पुरानो उपरदाङगढीको पुरानो ऐतिहासिक किल्लादेखि जुटपानीसम्म असर पार्ने बताए । खानीबाट निस्केको धूलो खोलामा फालेका कारण खेतमा असर परेको, खानेपानी र सिँचाइका मुहान सुकेर बोरिङ नै राख्नुपरेको उनले बताए । स्टार लाइमले सात वर्षअघि उत्खनन गरेकोमा अनेक खाले विवादले काम गर्न पाएको छैन । मानव अधिकार आयोगको सम्पर्कमा आएका कम्पनीका प्रतिनिधि रामजी चौरसियाले उत्खनन्को प्रक्रियामा रहेको बताएको सहसचिव सापकोटाको भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>