चितवन विशेष
पूर्वविद्यार्थीद्वारा बालकुमारी मावि नारायणगढलाई आर्थिक सहयोग

चितवन, फागुन १४
बालकुमारी मावि नारायणगढका पूर्वविद्यार्थीहरुले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
बालकुमारी मावि अलमुनाई एशोसिएसनअन्तर्गत एसएलसी. ब्याच २०४७ का विद्यार्थीहरुले विद्यालयलाई आर्थिक सहयोग गरेका हुन् ।
विद्यालयको निजी शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन नसकेर विद्यालय अत्यन्तै गम्भीर आर्थिक समस्याबाट गुज्रिरहेको कुरालाई मध्यनजर गर्दै समस्याको निराकरणको लागि उनीहरुले विद्यालयलाई तीन लाख पच्चीस हजार रुपैयाँ सहयोग गरे । विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णराज हमालको प्रमुख अतिथि रहेको कार्यक्रममा विद्यालयका पूर्वशिक्षकहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा २०४७ एसएलसी. ब्याचका विद्यार्थीहरुको तर्फबाट डा. बद्री पौडेल, डा. प्रकाश ज्ञवाली, प्रहरी उपरीक्षक अरुण पौडेल, आश्विन श्रेष्ठ र गीता सेंढाईले विद्यालयको गतिविधिहरु सुधार्न सम्पूर्ण शिक्षक, शिक्षिका तथा स्थानीय बासिन्दाहरुको हातेमालो हुन जरुरी भएको सुझाव दिएका थिए । उनीहरुले आफूहरु यस विद्यालयको विद्यार्थी हुन पाएकोमा गौरवान्वित भएको र आवश्यक परेको बेला जतिखेर पनि विद्यालयको लागि सहयोग गर्न सम्पूर्ण पूर्वविद्यार्थीहरु तत्पर रहेको जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले विद्यालयको वास्तविक सम्पति भनेको पूर्वविद्यार्थी नै हुन् भन्दै पूर्वविद्यार्थीहरुको कार्यको प्रशंसा गरे भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक प्रधानले विद्यालयले पुनःनिकासको बाटो रोजिसकेको र आफू पनि पूर्वविद्यार्थी भएकोले गौरव महसुस गर्दै पूर्व विद्यार्थीहरुको विद्यालयका क्रियाकलापहरुमा संलग्नता अपरिहार्य रहेको बताए ।
बालमावि अलमुनाईका अध्यक्ष सेवन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णराज हमाललाई २०४७ एसएलसी ब्याचका विद्यार्थीहरुले दोसल्ला ओढाई सम्मानपत्रले सम्मानित गरेका थिए । आफ्नो बोल्ने क्रममा भावुक हुँदै विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णराज हमालले कुनै पनि उपलब्धि हासिल गर्न धेरै मेहनत र योगदानको खाँचो हुने बताए । विद्यालयलाई माथि उकास्न विद्यालयमा कार्यरत शिक्षकहरूको अहम् भूमिका रहन्छ भन्दै उनले विद्यालयको विकास र प्रगतिको कामनाका पूर्वविद्यार्थीहरुको सहयोगको प्रशंसा गरे । पूर्वविद्यार्थी सूर्यप्रकाश कँडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत रिना श्रेष्ठले गरेकी थिइन् भने सञ्जय गुप्ताले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमका सभापति अलमुनाईका अध्यक्ष पन्तले पूर्वविद्यार्थीहरुको विद्यालयमा योगदान अपरिहार्य रहेको र गत सरस्वती पूजाको अवसरमा पनि पूर्वविद्यार्थीहरूद्वारा विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिसकिएको जानकारी दिए ।
























