कर्णाली
सुर्खेत भेरीगंगाका वडा अध्यक्ष कार्कीको निधन, स्थानीय गरे सडक बन्द

सुर्खेत, फागुन १४–
सुर्खेतमा वडा अध्यक्षको निधन भएपछि स्थानीय सडक बन्द गरेका छन् ।
मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा गयराति काठमाडौँमा मृत्यु भएपछि स्थानीयले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका हुन् ।
फागुन ८ गते रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका वडा नं। १२ छिन्चु बजारदेखि पश्चिम तर्फको सडकमा नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु जाँदै गरेको कार्की सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराएका हुन् ।
आज बिहान ६ बजेदेखि सुर्खेत–नेपालगञ्ज सडकखण्ड अन्तर्गत तीन ठाउँमा सडक अवरुद्ध पारेका छन् । कर्णाली प्रदेशको मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
वडाअध्यक्ष कार्कीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको डीएसपी घर्तीले बताए ।
























