देश/प्रदेश

रुस र युक्रेन तनावको असर नेपाली बजारमा, सुनको मूल्य झण्डै एक लाख पुग्यो

Banner

काठमाडौँ, फागुन १२-

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव नेपालसहित विश्वको अर्थतन्त्रमा पर्न थालेको छ ।

युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो ।

युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । युक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न युरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध समेत लगाएको छ । रुस युक्रेन माथि आक्रमण सुरु गरेपछि विश्वको शेयर बजार गिरावट आएको छ भने यता कच्चा तेलको मूल्य उच्च बिन्दुमा पुगेको छ । त्यस्तै, युद्वको प्रभाव विश्व सुन चाँदीको कारोबारमा परेकाले सुन चाँदीको मूल्य अन्तरर्राष्ट्रिय बजारमा नै बढेको छ । अन्तर्राष्ट्रिय बजारको असरले नेपालमा पनि बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ रहेकोमा बिहीबार दुई हजार ५०० रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ । रुस र युक्रेनबीच युद्व नै सुरु भएकाले अन्तर्राष्ट्रिय बजार सुनको मूल्य बढेकोले नेपाली बजारमा पनि सुनको मूल्य बढेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । उनले पछिल्लो समय निरन्तर रुपमा सुनको मूल्य घट्बढ भइरहेको तर एक्कासी रुसले युक्रेन दुई देशबीच द्धन्द्ध बढेसँगै सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताए । अन्तर्राष्ट्रिय बजारको राजनीति तनाव बढ्दा सुनचाँदी जस्ता बहुमूल्य धातुमा लगानी गर्दा सुरक्षित हुने भएकाले लगानी बढ्ने हुँदा यसको असर सुनको मूल्यमा पर्ने गरेको शाक्यको भनाइ छ ।

नेपालमा अन्तर्राष्ट्रिय डलरको मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गरेर बजारमा कारोबार हुने गरेको जानकारी दिए । दुई देशबीचको युद्व कै कारण अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै शाक्यको भनाइ छ । विश्वका कुनै दुई देशबीचको युद्व, प्रकृति प्रकोपलगायत विश्व अर्थतन्त्रमा घट्ने घटनाले सुनको मूल्यमा प्रत्यक्ष असर गर्ने गरेको शाक्यले बताए । विश्व अर्थतन्त्रमा नयाँ नयाँ चुनौती थपिदै गएकाले सुनको माग बढी आउने तथा युद्व चर्किदै गएको अवस्थामा सुनको मूल्य घट्ने भन्दा बढी अझ बढ्दै जाने सम्भावना रहेको बताए । नेपालमा सुनको मूल्य यति नै पुग्छ भन्ने अहिले नै आकलन गर्न सकिने अवस्था नभएको उनले बताए । शाक्यले तत्कालको अवस्था हेर्दा सुनको मूल्य घट्ने अवस्था नभएको, अझ रुस र युक्रेनको तनाव बढ्दै गए सुनको मूल्य घट्नेभन्दा बढ्ने देखिएको धारणा व्यक्त गरे ।

अध्यक्ष शाक्यले भने,‘अहिले विश्वको भूराजनीतिक अवस्थामा युक्रेन र रुसको बीचमा युद्व होलाकी भन्ने जुन किसिमको शंका भएको थियो । आज नै रुसले युक्रेनलाई आक्रमण गरेको छ । आक्रमणसँगै दुई देशबीच युद्व सुरु भएको छ । दुई देशको बीचमा युद्वको सुरुवात भयो भन्ने वितिकै प्रभाव कहाँ पर्छ भन्दा सुन चाँदी जस्ता बहुमूल्य धातुहरुमा लगानी गर्दा लगानी सुरक्षित हन्छ भनेर भनिन्छ । विश्वले सुन चाँदीमा लगानी गर्दा लगानी सुरक्षित क्षेत्रमा राख्ने गर्दछन् । आफ्नो लगानी सुरक्षित राख्नको लागि अन्य क्षेत्रमा लगाएको लगानीसमेत निकालेर सुन चाँदीमा लगानी गर्न गर्छन् । त्यसको प्रभाव अन्तर्राष्ट्रिय शेयर बजार घटेको अवस्था छ भने सुन चाँदी र तेलको मूल्य बढेको अवस्था छ ।

त्यसैले अन्तरर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढेपछि त्यसको प्रभाव नेपाली सुन चाँदीको बजारमा पर्न आउँछ । नेपाली सुन चाँदीको बजार सानो होस् अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको प्रभाव तत्कालै हाम्रो बजारमा आउँछ । नेपालमा रुसले युक्रेनलाई आक्रमणको कारण अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य वृद्धि भयो त्यसैको प्रतिबिम्ब स्वरुप नेपालमा सुनको मूल्य दुई हजार ५०० रुपैयाँले बढेको छ । सुन मात्रै नभएर चाँदी समेत बढेको छ । चाँदीको मूल्य पनि आज प्रति तोला ३० रुपैयाँले बढेको छ । जुन किसिमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुने प्रचलन छ ।

यस्तो विभिन्न दुई देशबीचको युद्व, प्रकृति प्रकोपलगायत विश्व अर्थतन्त्रमा घट्ने घटनाले सुनको मूल्यमा प्रत्यक्ष असर गर्ने गरेको छ । नेपालमा सुनको मूल्य यति पुग्छ भन्ने आकलन गर्न सकिने अवस्था छैन । वस्तुको मूल्य व्यवसायीहरुको सेन्टिमेन्टसँग जोडिएको हुन्छ । सुनको मूल्य यति पुग्छ भनेर भविष्य वाणी गर्न हुँदैन । तर, अब सुनको मूल्य घट्ने चान्स कम देखिन्छ । यस्तो अवस्थामा सुनको मूल्य बढ्ने सम्भावना बढी हुन्छ । अहिले युद्व मात्रै नभएर विश्व अर्थतन्त्रमा देखा परेको फरक पनको कारण डिजिटल करेन्सी सुरु भएको छ । यसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपिएकाले सुनको माग बढी आउने सम्भावना छ । त्यसले गर्दा सुनको मूल्य बढ्ने बढी सम्भावना रहेको छ ।’

अध्यक्ष शाक्यले सुनको मूल्य मात्रै नभएर चाँदीको मूल्य पनि प्रतितोला ३५ ले बढेर एक हजार ३१५ रुपैयाँ पुगेको बताए । नेपालमा करिब डेढ वर्षअघि सुनको मूल्य ९९ हजार रुपैयाँसम्म पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>