चितवन विशेष

नारायणगढका एक व्यवसायीलाई पटक–पटक हत्या प्रयास, प्रहरी भन्छ: अनुसन्धान गर्दै छौं

Banner

चितवन, फागुन १२-

नारायणगढका एक व्यवसायीलाई पटकपटक आक्रमण गरेर हत्या प्रयास भएको छ ।

भरतपुर महानगरपालिका–२ बेलटाँडीका व्यवसायी अकबर हुसेनलाई पटक–पटक आक्रमण प्रयास भएको हो ।

गत पुस २९ गते र माघ २५ गते हुसेनले आक्रमण गरेर हत्या प्रयास भएको भन्दै वडा प्रहरी कार्यालय नारायणगढमा उजुरी दिएका छन् । उनले शान्तिसुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा समेत निवेदन दिएको बताएका छन् ।

हुसेनले पुस २९ गते साँझ ६ः३० बजे र माघ २५ गते बिहान ६ः१३ बजे आफूलाई अपरिचित व्यक्तिहरुले आक्रमण प्रयास गरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘बिहान नारायणगढ स्थित बरकाती मस्जिदमा नवाज पढ्न जाँदै थिएँ । एक्कासी धारिलो हतियारसहित आक्रमण प्रयास भयो । भागेर ज्यान जोगाएँ ।’ उनले आफ्नो हत्या गर्ने योजनाका साथ आक्रमण गरिएको र शंकास्पद व्यक्तिहरुको जानकारी प्रहरीलाई दिइसकेको बताए । उनले आफ्नो शान्तिसुरक्षाको लागि प्रशासन कार्यालयसमेतमा जानकारी गराइसकेको बताएका छन् । नारायणी अनलाइनलाई प्राप्त सीसीक्यामरा भिडियो फुटेजमा पनि उनलाई आक्रमण गरेको देखिन्छ । भिडियोमा हिडिरहेका व्यवसायीलाई मोटरसाइकलमा कुरेर बसिरहेका युवाहरुले नजिँकै आउनासाथ आक्रमण गरेको देखिन्छ । व्यवसायीले भागेर ज्यान बचाएको भिडियोमा देख्न सकिन्छ । हुसेनले नारायणगढमा टेन्ट व्यवसाय गर्दै आएका छन् ।

घटनाका सम्बन्धमा वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख रघुसिंह बिष्टले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘घटनाको अनुसन्धान गरिरहेका छौं । शंकास्पद व्यक्तिहरुको पहिचान गरेर थप अनुसन्धान अगाडि बढाउछौँ ।’ उनले शंकास्पद व्यक्तिहरुको कल डिटेल र अन्य अनुसन्धानको कामहरु अघि बढाउने बताए । विष्टले घटनालाई गम्भीररुपमा लिएको भन्दै घटनामा संलग्नहरुलाई कारबाही गरिने बताए । नारायणगढमा पर्याप्त सीसीटीभी नहुँदा र भएका पनि बिग्रदा अपराधिक गतिविधि नियन्त्रणमा समस्या भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>