Breaking News
संसदमा एमसीसीबारे भोलि छलफल गर्ने कार्यसूची सार्वजनिक, काँडेतारले बेरियो संसद् भवन

काठमाडौं, फागुन ११-
अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफल भोलिको कार्यसूचीमा परेपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको समयमा संसद भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाएको छ ।
बिहीबारको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद भवनको सम्भावित कार्यसूची छ । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठन, राप्रपालगायतका अन्य दलहरुले समेत संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध गर्दै आएका छन् ।
संसद भवनले आज सार्वजनिक गरेको कार्यसूची अनुसार भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । त्यस दिन अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७\७८ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

























