चितवन विशेष
माडीको बाँदरझुलामा पुग्ने भयो विद्युत्, २ करोड बढीको टेण्डर आह्वान

चितवन, फागुन ११–
चितवन राष्ट्रिय निकुञ्जको भागमा पर्ने माडीको बाँदरझुलामा विद्युत पुग्ने भएको छ । बाँदरझुलासंगै कृषि र मत्स्यपालन क्षेत्रहरुमा विद्युत विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले बोलपत्र (टेण्डर) आह्वान गरेको छ ।
माडी–९, बाँदरझुला (हनुमानझुला) क्षेत्रमा विद्युतीयकरणका लागि २ करोड ४३ लाख रुपैयाँको बोलपत्र आह्वान भएको हो । यस्तै माडी उपत्यकाभित्र वडा नं. १ देखि ९ सम्मका कृषि तथा मत्स्यपालन क्षेत्रहरुमा विद्युतीयकरणका लागि थप २ करोड २५ लाखको टेन्डर समेत प्रकाशित भएको माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । यसबाट माडीका भित्री र बिजुली पुग्न बाँकी रहेका स्थानहरुमा सबै स्थानहरुमा बिजुली विस्तार गरिने वितरण केन्द्रको भनाई छ ।
बाँदरझुला क्षेत्रमा बिजुली बिस्तारका लागि माडीका साँसद समेत रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्दै आएका थिए। बाँदरझुलाका सुकुम्बासीहरुको राजधानी केन्द्रीत आन्दोलनका क्रममा भूमि आयोगसंग भएको तीन बुँदे सहमतीमा समेत सो क्षेत्रमा बिजुली विस्तार गरिने बुँदा उल्लेख रहेको छ ।
























