Breaking News
भरतपुरको पहाडी क्षेत्रमा करोडौँका खानेपानी आयोजना,घण्टौं लगाएर पानी बोक्नुपर्ने बाध्यता हट्यो

मधुसूदन दवाडी
चितवन, फागुन १०-
भरतपुर महानगरको उच्च पहाडी क्षेत्रमा घण्टौं लगाएर खाने पानी ओसार्नुपर्ने बाध्यता हटेको छ ।
पहाडी क्षेत्र समावेश भएको वडा नम्बर २९ मा डोढेनी खानेपानी आयोजना निर्माण सम्पन्न भएर आज उद्घाटन भएपछि सो बाध्यता हटेको हो । सोही वडामा अर्काे आयोजना चौकी डाँडा खानेपानी आयोजना पनि अब निर्माण कार्य सकिएर उद्घाटनको चरणमा नै रहेको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीले आज संयुक्तरुपमा धाराको टुटी खोलेर ढोडेनी खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् । उद्घाटन पछि मेयर दाहालले वडा नं २९ को सबै भन्दा ठूलो समस्याको रूपमा रहेको खानेपानी समस्या अब सदाको लागी अन्त भएको भन्दै खुसी व्यक्त गरेकी छन् । उनले दुई खानेपानी आयोजना ढोडेनी खानेपानी र चौकीडाँडा खानेपानी ले २९ नं. वडा बासीमा थप खुशियाली छाएको बताएकी छन् ।
ढोडेनी खानेपानी आयेजनाबाट त्यस क्षेत्रका ८३ घर लाभान्वित हुने भएका छन् । त्यहाँका स्थानीय ५०० मिटर तलको खोलामा पानी लिन जान बाध्य थिए । गाउँमा बारीमा तरकारी लगाउन पनि सम्भव थिएन । अहिले ५०० मिटर तल खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्याङ्कीमा तानेर घरघरमा धारामा वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष मानबहादुर रानाले बिहानभरीलगाएर घरमा खानेपानी ओसार्नु पर्ने बाध्यता हटेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ पानीको अभावमा बारीमा तरकारी लागाउन पनि समस्या भएको थियो । ’
सो आयोजना संघीय सरकारको बजेट एक करोड पाँच लाख, भरतपुर महानगरको ३५ लाख र बाँकी श्रमदान गरी डेढ करोड बढीको लागतमा सम्पन्न भएको हो । स्थानीय खड्कबहादुर लामाले खानेपानी कार्यालय राख्नको लागि जग्गा उपलब्ध गराएका छन् भने चितवनका जग्गा व्यवसायी बामदेव गौलीले ट्याङ्की निर्माणमा सहयोग गरेको वडा अध्यक्ष मगरले बताए ।
त्यसैगरी सोही वडाको चौकी डाँडा खानेपानी आयोजनाको पनि पानी वितरणको परीक्षण सम्पन्न भएर उद्घाटनको दिन पर्खिएर बसिरहेको छ । यसले वडा नम्बर २९ को धेरै पहाडी क्षेत्रलाई समेटेको छ । यस आयोजना निर्माणको लागि पनि ८०० मिटर तलको डुम्री खोलाको पानीलाई लिफ्टिङ गरी थाम डाँडामा ट्याङ्की बनाएर जम्मा गरेर घरमा वितरण गरिँदै छ । यो आयोजना निर्माणको लागि संघीय सरकारले दुई करोड, प्रदेश सरकारले दुई करोड ३० लाख र श्रमदान गरी चार करोड ९२ लाखको लागतमा सम्पन्न भएको हो । दुवै आयोजनाको एकै दिन आज भन्दा दुई वर्ष अगाडि शिलान्यास गरिएको थियो ।

























