क्रिकेट

विश्वकप छनोटः सेमीफाइनलमा नेपालले युएइसंग खेल्ने

Banner

काठमाडौँ, फागुन ९–

यसैवर्ष अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप क्रिकेटको पुग्न नेपाल एक कदम मात्रै बाँकी छ ।

ओमानमा भोलि हुने पहिलो सेमीफाइनलको विजेता विश्वकपमा छनोट हुनेछ । नेपाल समूह ‘बी’को विजेताको रुपमा सेमीफइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले समूह ‘ए’का उपविजेता युएईसंग भिड्ने छ ।

खेल नेपाली समय अनुसार भोलि (मंगलबार) दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिने नेपाली कप्तान सन्दीप लामिछानेले बताएका छन् । क्यानडाविरुद्धको समूह चरणको अन्तिम खेलमा आज प्लेयर अफ दि म्याच घोषित भएका कप्तान सन्दीपले भोलि दिलोज्यान लगाएर खेल्ने बताए । ‘भोलि हाम्रो निकै महत्वपूर्ण खेल हो, सबैले आ–आफ्नो भूमिका बुझेका छौं, हामी दिलोज्यान दिएर खेल्छौं, आशा छ हामी विश्वकपमा पुग्ने छौं’–सन्दीपले भने ।

नेपाल समूह ‘बी’का तीन वटै खेलमा शतप्रतिशत जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपालसंग पराजित भएको ओमान २ खेलमा जित निकाल्दै ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमीफाइनल प्रवेश गर्‍यो । नेपाल र ओमानसंग लगातार पराजित भएको क्यान एक जित निकाल्दै २ अंकका साथ तेस्रो स्थानमा रह्यो भने तीनै खेलमा पराजित भएको फिलिपिन्स अंक विहीन रहँदै पुछारमा रह्यो । नेपालले अन्तिम खेलमा आज क्यानडालाई ८ विकेटले पराजित गरेको हो ।

यस्तै प्रतियोगिताको समूह ‘ए’को विजेताको रुपमा आयरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेको छ । ३ खेलमा २ जित र एक हारका साथ ४ अंक बटुल्दै नेटरनरेटका आधारमा आयरल्याण्ड शीर्ष स्थानमा रह्यो भने युएई समान ३ खेलमा २ जित र एक हार व्यहोर्दै ४ अंकका साथ नेटरनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेर सेमीफाइनलमा पुग्यो । आज युएईलाई २ रनले पराजित गर्दै समान ४ अंक बनाएको बहराइन नेटरनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहेर बाहिरिएको छ । जर्मनी ३ खेलमै पराजित हुँदै अंकविहीन अवस्थामा प्रतियोगिता टुंगाएको छ ।

दोस्रो सेमीफाइनलमा घरेलु टोली ओमान र आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>