Breaking News

बिरामीको भीडले अस्तव्यस्त बन्दै भरतपुर अस्पताल, दुई घण्टासम्म बिरामी लाइनमा बस्न बाध्य

Banner

प्रतिमा कुमाल

चितवन, फागुन ८-

भरतपुर अस्पतालमा ओपीडी सेवा लिन आउनेहरुको घुँइचो बढेको छ ।

कोरोना भाइरसको तेस्रो भेरियन्टका कारण बन्द भएको ओपीडी सेवा खुलेसँगै उपचारको लागि आउनेको संख्या बढेको हो ।

मानिसहरु घण्टौं लाइनमा बसेर टिकट काट्ने गरेका छन् । भीडभाडका कारण ज्येष्ठ नागरिकहरु बढी मारमा परेका छन् । ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर भए पनि भीडका कारण घण्टौं लाइनमा बस्नुपरेको टेकबहादुर सापकोटाले बताए । सापकोटा कालिका नगरपालिकाको पदमपुरबाट उपचारको लागि भरतपुर अस्पताल आएका हुन् । ८२ वर्षीय सापकोटाले आफू दमको रोगी रहेको बताए ।

आज लाइनमा भेटिएकी टीकादेवी दवाडीले ओपीडीमा टिकटको लागि दुई घण्टादेखि लाइन बसिरहेको बताइन् । वृद्धवृद्धाको स्वास्थ्यको ख्याल अस्पतालले राख्नुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘घरमा दुई बुबा बुढी छम् । छोराछोरी नातिनातिना भएको भए उनीहरुले नै टिकट काटिदिन्थे । रेलिङ्मा समाउँदै लाइन बसिराछु । अस्पतालले बृद्धबृद्धालाई छिटो र छरितो रुपमा सेवा दिने राम्रो हुन्थ्यो । भरतपुर गौरिगञ्जबाट स्वयम्को उपचारको लागि उनी अस्पताल आएकी हुन् ।

भरतपुर गोन्द्राङकी रञ्जना गुरुङले सिमित समय भएकाले एकै दिनमा टिकट काट्न नसकिने गुनासो नारायणी अनलाइनसँग गरिन् । आमाको दादको उपचारका लागि आएकी गुरुङ टिकटको लागि मात्र दुई दिन धाएको जीकिर गरिन् । ओपीडी सेवा दिने समय बढे, चिकित्सकहरुले एउटामात्र अस्पतालमा काम गरे दैनिक सेवाग्राहीको समस्या हट्ने उनको भनाइ छ । अस्पतालको बिहान ८ः३० देखि मध्यान्न १२ः ३० सम्म टिकट काट्ने समय रहेको छ । पाँच वटा ओपीडी टिकट काउन्टर छन् । तर, काउन्टरमा लाइन पनि भद्रगोल देखिन्छ । वृद्धवृद्धा र अशक्तलाई बस्ने कुर्चीसम्म राखिएको छैन ।

कोरोनाको डर घट्दै गएकोले ओपीडी सेवा लिनेको संख्या ह्वातै बढेको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल प्रसाद पौडेलको भनाइ छ । उनले भने, ‘कोरोनाको संक्रमण घट्दै गएको छ । केही समय अगाडि भरतपुर अस्पताल गए कोरोना सर्छ भन्ने थियो । अहिले डर कम भएको छ । नियमित स्वास्थ्य परीक्षण र अन्यको आउन थालेका छन् ।’

पौडेलले अस्पतालको संरचनाका कारणले धेरै भीडभाड देखिएको बताएका छन् । अस्पतालका अनुसार आज एक हजार २०० जनाले ओपीडी सेवा लिएका छन् । यस्तै उनले अस्पतालले अनलाइन टिकटको पनि व्यवस्था गरेको जानकारी दिएका छन् । तर, अनलाइन ओपीडी टिकट प्रणाली प्रभावकारी बन्न नसकेको उनको भनाइ छ । अनलाइन टिकट काटेका सेवाग्राहीले बिहान ११ बजेबाट सम्बन्धित काउन्टरबाट टिकट लिने व्यवस्था गरिएको छ । सरकारले स्वास्थ्य बिमाको सुविधा सरकारी अस्पतालमा मात्र दिएकोले पनि भरतपुर अस्पतालमा भीडभाड बढेको बिरामीहरु बताउँछन् । दुई हप्ता अगाडि स्वास्थ्य मन्त्रालयले पहिलो चरणको उपचार तोकिएको अस्पतालमा नगरी अन्यत्र रिफर लैजान नपाइने भएकोले पनि भरतपुर अस्पतालमा बिमाका बिरामीहरुको हरेक दिन भीडभाड बढ्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>