चितवन विशेष

व्यवस्थित बन्दै थारु छात्रावास, महतो परिवारले बनायो प्रवेशद्धार

Banner

चितवन, फागुन ७–

थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुमा रहेर अध्ययन गर्न सहज हुने उद्देश्यका साथ १० वर्ष अगाडि थारु छात्रावास स्थापना गरियो । तर छात्रावास व्यवस्थित हुन सकेको थिएन । व्यवस्थित मुख्य प्रवेशद्धार नहुँदा छात्रावासमा सुरक्षा जटिलता देखिन थालेपछि दाताको खोजी भयो ।

सोही क्रममा शैक्षिक क्षेत्रमा ठूलो टेवा पुर्‍याउँदै आएका थारु अगुवाको परिवारले मुख्य प्रवेशद्धार बनाउने निर्णय लियो । अन्ततः छात्रावासमा अहिले व्यवस्थित प्रवेश द्धार निर्माण भएको छ । पूर्व शिक्षक एवं थारु अगुवा भजुमनराम महतोको परिवारले स्वर्गीय श्रीमती लछुमिनीया देवी थारुको स्मृतिमा प्रवेश द्धार निर्माण गरेको हो । सो प्रवेशद्धारको शनिबार एक कार्यक्रमकाबीच भजुमनराम महतोको परिवार र कार्यक्रमका प्रमुख अतिथि थारु जातिको संस्कृतिमा पीएचडी गरेका डा.गणेश खरालले उद्घाटन गरेका छन् ।

१४ वटा आवासीय कोठा रहेको छात्रावासमा हाल २८ जना विद्यार्थीहरु आवासीय सुविधामा अध्ययन गरिरहेका छन् । उनीहरुलाई थाकसे निःशुल्क रुपमा आवासको व्यवस्था मिलाएको हो । विपन्न र जेहेन्दार विद्यार्थीलाई छनोट गरि छात्रावासमा निःशुल्क बसोबासको व्यस्था गर्ने गरिएको थाकसका सभापति ललित चौधरीले जानकारी दिए ।

कार्यक्रममा थारु अगुवा भजुमनराम महतोले श्रीमतीको सम्झनामा प्रकाशन गरेको ‘मोर सम्झनामा लछुमिनीया’ र ‘मोर जिनगीक ७५ वसन्त’ पुस्तकको समेत प्रमुख अतिथि खरालले पूर्णाञ्जली गरेका छन् ।

सो क्रममा पुस्तक मार्फत थारु भाषाको संरक्षण र सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै थारु अगुवा भरतपुर पटिहानीका भजुमनराम महतो र खैरहनी–१० बडगाउँका जोखाप्रसाद चौधरीलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि डा.खराल र थाकस चितवनका सभापति ललित चौधरीले दुवै जनालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । थारु अगुवा जोखाप्रसाद चौधरीले ‘जितियाक कथा’, ‘थारु सँस्कृति र परम्परा’ थारु पुस्तक प्रकाशन गरेका छन् ।

यस्तै कार्यक्रममा मुख्य प्रवेशद्धार निर्माण गर्ने महतो परिवार सबैलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.खरालले थारु भाषा र संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षणमा लाग्न सुझाव दिए । उनले आफू पीएचडी गर्ने बेला थारु भाषा र सँस्कृतिको बारेमा धेरै अध्ययन गरेको भन्दै यसलाई जोगाउने बेला आएको बताए ।

यस्तै कार्यक्रममा बोल्दैस्वर्गीय लछुमिनीया देवीका जेष्ठ सुपुत्र एवं सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतोले स्वर्गीय आमाको सम्झनामा प्रवेशद्धार बनाउन पाउनु गर्वको विषय रहेको बताए । बुवा र आफ्नो परिवार शैक्षिक क्षेत्रबाटै यहाँसम्म आइपुगेको भन्दै शिक्षा क्षेत्रमै आफ्नो समुदायमा योगदान पुगोस् भन्ने उद्देश्यले प्रवेशद्धार बनाउन सहयोग गरिएको बताए । शिक्षा क्षेत्रमा थाकसले महत्वपूर्ण भूमिका खेल्दै आएकोमा थप टेवा पुगोस् भन्ने हेतुले सहयोग गर्दै अगाडि बढेको बताए । उनले अझै पनि आफ्नो परिवार शोकमा रहेको भन्दै शोकलाई शक्तिमा बदल्न प्रयासरत रहेको बताए ।

यस्तै महतोले बुवा भजुमनराम महतोलाई लेखनमा सदैव आफूले सहयोग गर्दै आएको स्मरण गर्दै आमाको स्मृतिमा बुवाले कोरेका शब्दलाई पुस्तकको रुपमा प्रकाशन गरिएको बताए । शोकको बेलामा समवेदना प्रकट गरिएका शब्द र फ्रेमहरुलाई ‘मोर सम्झनामा लछुमिनीया’ नामको पुस्तकमा समावेश गरिएको भन्दै यसले सबै पुस्ताले आफ्नो परिवारको बारेमा जानकारी पाउने बताए ।

कार्यक्रममा थाकसका उपसभापति चन्द्रविक्रम चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला सभापति ललित चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>