Breaking News

भरतपुर अस्पतालको पार्किङ व्यवस्थापन भद्रगोल, बिरामी र कर्मचारीको पार्किङ सडकमै

Banner

प्रतिमा कुमाल

चितवन, फागुन ७-

लामो समयदेखि भरतपुर अस्पतालले सवारीसाधन पार्किङको उचित व्यवस्थापन गर्ने आस्वासन मात्र दिँदै आएको छ ।

अस्पतालले अहिलेसम्म व्यवस्थित पार्किङ निर्माण गर्न नसक्दा सर्वसाधारण तथा अस्पताल कर्मचारीले समेत सडकमा सास्ती खेप्दै आएका हुन् ।
चौतर्फीतर्फबाट पार्किङ व्यवस्थापनमा प्रश्न उठ्न थालेपछि अस्पतालले करिब १०० मोटरसाइकल अट्ने पार्किङ क्षेत्र बनाएको थियो । नामको मात्र पार्किङ स्थल बन्दा एम्बुलेन्स, मोटरसाइकल तथा अस्पतालकै कर्मचारीले सडकको दुबै पेटीमा पार्किङ गर्ने गरेका छन् । अटो रिक्साले पनि त्यहाँ आफ्ना पार्किङ स्थल बनाएको छ । अस्पतालको मुख्य गेट अर्थात् चोक म्याजिकहरुको स्टेसन बनेको छ । बिहान र साँझ ४ बजेपछि त्यहाँ ट्राफिक जाम हुने गरेको छ ।

साँघुरो सडकसँगै अव्यवस्थित पार्किङले गर्दा सवारी दुर्घटनाको जोखिम बढाएको स्थानीय बताउँछन् । स्थानीय कपडा व्यवसायी सुजन कट्टेलले भरतपुर अस्पताल रोडमा दिनहुँ दुर्घटना हुने गरेको बताए । ‘अस्पताल भीडभाड हुने स्थान नै हो । त्यहीमाथि सडक पेटीमा सवारीसाधन पार्क गरिदिँदा हिड्ने ठाउँ नै हुँदैन । साँघुरो सडक पार्किङले झन् साघुँरो बनाएको छ । अटो, मोटरसाइकल, साइकल, कार, म्याजिक दैनिक जसो एक आपसमा जुध्ने गर्छ,’ उनले भने । ठूलो दुर्घटना नभए पनि सानासाना सधै हुने कट्टेलको भनाइ थियो ।

यसरीनै पार्किङ व्यवसस्थापनमा ढिला सुस्ती गरे ठूलो दुर्घटना समेत हुन सक्ने बताए । पैदलयात्री फूलमाया मर्दानियाले बाटो काट्न सकस हुने बताएका छन् । सवारीसाधनको चाप हुँदा पैतला राख्ने ठाउँसमेत नहुने बताए ।

भरतपुर महानगरपालिका–१० का एम्बुलेन्स चालक सुबास थापामगरले पार्किङस्थल नहुँदा बाटोमा पार्क गर्न बाध्य भएको जीकिर गरे । ‘हामीले अस्पतालकै बिरामी बोक्ने हो । बिरामी राख्ने अस्पतालले बिरामी बोक्ने साधनको पनि उचित व्यस्थापन गर्नुपर्छ । यस तर्फ अस्पतालले व्यवास्था गर्दा हामी बाटोमा पार्क गरिरहेका छौँ,’ मगरले भने ।

भरतपुर महानगरपालिका – २८ का एम्बुलेन्स चालक मनोज कुमालले एम्बुलेन्स, कर्मचारी र सेवाग्राही बाहेकका साधनलाई पार्किङ गर्न दिन नहुने बताएका छन् । अटो रिक्सा जस्ता सार्वजनिक यातायातले अस्पताल जस्तो ठाउँमा प्यासेन्जर कुर्ने जस्ता काम गरेको बताए । राप्ती नगरपालिका–८ का हरिकृष्ण रुवालीले अस्पतालले कति एम्बुलेन्स राख्ने निर्णय गर्नुपर्ने बताएका छन् । त्यो निर्णय नहुँदा आवश्यकता भन्दा धेरै एम्बुलेन्सहरु यहाँ थपिएर बसेका छन् ।

अर्का चालक भरतपुर महानगरपालिका–१२ का महेश गुरुङले पार्किङ अव्यवस्थित देखिनुमा एम्बुलेन्स संघको पनि दोष रहेको बताएका छन् । ‘एम्बुलेन्सको काम भनेको बिरामी उठाउने हो । सम्बन्धित स्वास्थ्य संस्थामा पु¥याउने हो । त्यसको शुल्क लिए पछि आफ्नो संस्थामा जाने हो । तर, यहाँ बिरामी तानातान गर्दै बस्छन् ।

बाहिर जिल्लाका एम्बुलेन्सहरु बिरामी अस्पताल ल्याएपछि फर्र्कदैनन् । ४ देखि ५ दिनसम्म कुरेर बस्छन् । ल्याउने उनीहरुको काम हो । पु¥याउने काम अस्पताल रहेको जिल्लाको एम्बलेन्सहरुले पाहुनुपर्छ ।’ संघले यतिमात्र गरे भरतपुर अस्पतालमा देखिएको पार्किङ समस्या केही कम हुने गुरुङको भनाइ थियो । चितवन संयुक्त एम्बुलेन्स चालक संघ चितवनका अध्यक्ष सुमन घलेले अस्पतालको पार्क गर्ने ठाउँ नहुँदा सडकनै पार्किङ स्थल बनेको बताए । जिल्लासहित बाहिरबाट आएको एम्बुलेन्सको चाप अस्पतालको सानो पार्किङ क्षेत्रले थेग्न नसकेको उनको भनाइ थियो । यस विषयमा अस्पताल व्यवस्थानसँग छलफल भइरहेको घलेले जानकारी दिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले भरतपुर अस्पताल क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न चुनौती भएको बताए । अव्यवस्थित पार्किङ व्यवस्थापन गर्नको लागि एक देखि दुई हजार जरिवाना तिराउँदा पनि व्यवस्थापन गर्न नसकेको बताएका हुन् । अव्यवस्थ्ति पार्किङ हुनुको कारण बाहिरी एम्बुलेन्स र अस्पताल नजिकका बिरामीहरु अटोमा आउने र सोही अटोलाई कुर्न भन्ने, सहरीकरण, साघुँरो सडक, पार्किङ बिनाको घर, कम्पनी र संस्थाले गर्दा ट्राफिक समस्या निम्तिएको बताए ।

यस्तै भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले अबको ५ वर्षमा अस्पतालको पार्किङ समस्या हट्ने बताएका छन् । निर्माणाधिन अवस्थामा रहेको भवन सम्पन्न भएपछि बगैँचासहितको पार्किङ स्थल बन्ने बताएका हुन् । उनले भने, ‘भवनहरु बन्दैछन् । त्यो पूरा भएपछि अहिले सञ्चालित आकस्मिक सेवा कक्षलगायत भत्काएर पछाडि सार्ने हो । सो क्षेत्रमा पार्किङ बनाउने हाम्रो गुरुयोजनामै छ । लगभग पाँच वर्षमा बन्छ ।’ यस्तै समस्या नारायणी सामुदायिक अस्पतालमा पनि देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>