Breaking News
नेपालले फिलिपिन्सलाई दियो २१९ रनको लक्ष्य, कुशल भुर्तेलले बनाए शतक

काठमाडौँ, फागुन ६–
आइसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले फिलिपिन्ससामु २१९ रनको विशाल लक्ष्य पेश गरेको छ । ओमानमा जारी खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले शतकीय पारी खेले । उनी नेपालबाट टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बने । यसअघि पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए । भुर्तेलले ६१ बलमा अविजित १०४ रन बनाए । उनले १३ चौका र एक छक्का प्रहार गरे ।
यस्तै नेपाललाई विशाल योगफल तयार पार्न दीपेन्द्र ऐरीले ८३ रनको उत्कृष्ट पारी खेले । उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । लोकेश बम ३ बलमा ६ रनमा अविजित रहे । कुशल मल्ल १० बलमा १२ रन बनाउँदै आउट भए भने अर्का ओपनर आशिफ शेख डक आउट भए । उनी पहिलो बलमै आउट हुन पुगे ।
फिलिपिन्सका लागि डेनियल स्मिथ, मिग्गी पोडोस्की र गुरभुपिन्दर चौहानले समान एक÷एक विकेट लिए । नेपाल पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो ।
























