चितवन विशेष
भरतपुर १२ मा मेयर दाहालले बाडिन् जग्गाको ‘निस्सा’

चितवन, फागुन ४–
राष्ट्रिय भूमि आयोग चितवनमा धमाधम जग्गाको निस्सा बाड्ने अभियानलाई तिव्रता दिएको छ ।
भूमिहिनहरुलाई लालपूर्जा वितरण प्रक्रियाका लागि निस्सासंगै जग्गा नापजाँच कार्य तीव्र पारेको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले जानकारी दिए ।
भरतपुर महानगरसहित कालिका नगरपालिका र माडी नगरपालिकामा समेत आयोगले निस्सा वितरण र नापजाँच तीव्र पारेको तिमिल्सीनाले जानकारी दिए । सोही अभियान अन्तरगत आज (बुधबार) भरतपुर महानगरको वडा नम्बर १२ मा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष तिमिल्सीना र वडा अध्यक्ष नरेन्द्र कन्दवाले संयुक्त रुपमा नापजाँच प्रक्रियाका लागि निस्सा वितरण गरेका हुन् ।
कार्यक्रममा मेयर दाहालले जग्गा नापजांचको कार्यलाई पनि तिब्र ढंगले अगाडी बढाई जति सक्दो छिटो भूमिहिनलाई भूमिपति बनाईने बताइन् ।
यस्तै उपमेयर शाहले आफूहरुले गरेको बाचा अनुसार निस्सा वितरणसगैँ लालपूर्जा वितरण प्रक्रियालाई अगाडि बढाउन पाउँदा निकै खुसी लागेको बताईन् ।
जग्गाको निस्सा पाएपछि स्थानीयबासी उत्साहित भएका थिए ।
























