Breaking News

भरतपुरमा विपन्नको निःशुल्क सामूहिक चौरासी पूजा, वृद्धवृद्धाको आँखामा छचल्कियो खुसी

Banner

प्रतिमा कुमाल

चितवन, फागुन ४

चन्द्र दर्शन एवम् चौरासी पूजा हिन्दू धर्ममा महत्वपूर्ण मानिन्छ । ८० वर्ष कटेपछि ज्येष्ठ नागरिकको परिवारले यो पूजा गरिदिने प्रचलन छ । जन्मदेखि एक हजार चन्द्रमा देखिएपछि गरिने चौरासी पूजा गर्न चाहेर पनि कतिले गर्न पाउदैनन् । ती मध्ये भरतुपर महानगरपालिका–९ शरदपुर ज्येष्ठ नागरिक मिलन केन्द्रकी सन्तमाया तामाङको भने मनोचाहाना आज पूरा भएको छ । शरदपुर ज्येष्ठ नागरिक मिलन केन्द्र र ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति चितवन भरतपुर–९ ले उनीसँगै अन्य तीन जनाको इच्छा पूरा गरिदिएको हो ।

उमेरले ८६ काटिसकेकी तामाङ तीन छोरी चार छोराको आमा हुन् । पहिलो श्रीमान्को देहान्त भएपछि उनले दोस्रो विवाह गरेकी थिइन् । दोस्रो श्रीमान्को पनि देहान्त भएपछि उनी सन्तानले हेर्छन् भन्ने आशामा बाचिरहेकी थिइन् । तर, उनका चाउरिएको अनुहार र आँखामा छचल्किएको आँशुले उनी बेसाहारा भएर एक्लै बाँचिरहेको दर्साउँछ ।

अन्जान व्यक्तिसँग दुःख साट्दै उनी विवाह नगर्न सल्लाहा दिन्छिन् । विवाह गरे पछि श्रीमानको कुटाइ सन्तानको हेला सहनु भन्दा नगरेकै ठीक भएको उनको अनुभव छ । आफ्ना कोही नभए पनि आश्रमले चौरासी गरिदिँदा भने तामाङ खुसी छन् । अब भने सजिलै स्वर्ग तर्ने उनलाई विश्वास छ ।
उनी जस्तै त्यहाँ अरु तीन जना वृद्धवृद्धा थिए । उनीहरुको जीवनगाथा सुन्दा फरक भए पनि असन्तुष्टि र पीडा एउटै थियो । भरतपुरका गोपाल गिरीले ८० काटेपछि चौरासी गर्दा आनन्द महसुस भएको हर्ष बाँडे । आर्थिक समस्याका कारण चौरासी पूजा गर्ने आशा निराशामा परिणत हुन लागेको उनको भनाइ थियो । दुई छोरा तीन छोरीका बुबा गिरीले आजबाट जीवनको सबै कर्म सकिएको भन्दै खुसी व्यक्त गरे । उनको कान्छी छोरी बिन्दु भट्टराईले चौरासी गरेर सन्तानको जिम्मेवारी पूरा गरेको महसुस भएको बताइन् । असहाय तथा आर्थिक बिपन्नताका कारणले चौरासी पूजा गर्न नसक्नेहरुको लागि निःशुल्क सामूहिक चौरासी पूजा कार्यक्रम गरेकोमा आयोजक प्रति कृतज्ञता व्यक्त गरिन् ।

स्थानीय शिवप्रसाद पौडेलले निःशुल्क चौरासी पूजा कार्यक्रमले ठूलो उत्प्रेरणा दिएको बताएका छन् । गोजीमा दाम भएर पनि आफ्ना बृद्ध बुबाआमाको इच्छा चाहान नबुझ्ने सन्तानलाई यो झटारो भएको उनको भनाइ थियो । उनले भने, ‘असहाय, अनाथ तथा विपन्न परिवारका ज्येष्ठ नागरिकलाई केन्द्र बनाइ निःशुल्क चौरासी पूजा आयोजना गरिएको थियो । तर, यहाँ गन्ने मान्ने व्यक्तिका बृद्धा आमाबुबा पनि आए । इज्जत जान्छ भनेर आफैले गर्ने सर्तमा यहाँबाट कागज गरेर लगे ।’

चन्द्र दर्शन पूजा गरेपछि ८४ जुनीबाट छुट्कारा पाइने पुराणमा उल्लेख गरिएको भरतपुर महानगरपालिका–११ का पण्डित शेखर शास्त्रीले बताएका छन् । चौरासी पूजन गरेपछि जन्म र मृत्युबाट मुक्त हुने, दुःख, माया, मोहबाट मुक्ति मिल्ने हुँदा चौरासी पुजा गरिने उनको भनाइ थियो । यो उत्सव र उमंग पनि रहेको उनको जीकिर छ ।

यस्तै ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति चितवनका व्यवस्थापक अध्यक्ष रुद्रप्रसाद पौडेलले ज्येष्ठ नागरिकको सेवा गर्ने प्रतिबद्धता पूरा गरेको बताएका छन् । ‘ज्येष्ठ नागरिकको एउटा ठूलो इच्छा चौरासी पूजा गर्ने हुन्छ । यसमा धेरै खर्च लाग्ने भएकोले हुने खानेले गर्छन । तर, यहाँ कति आश्रममा बसेका छन् । कतिको आर्थिक समस्या छ । कसैको व्यवस्थापन गर्ने मान्छे छैन । गर्ने ठाउँ छैन । त्यसले गर्दा अहिले हामीले सामूहिक चौरासी गरेका हौं, उनले भने ।’

अध्यक्ष पौडेलले वर्षमा एक पटक १० जनाको सामूहिक निःशुल्क चौरासी पूजा गर्ने योजना समाजको रहेको बताए । चौरासी पूजाको दौरानमा कोही केही सहयोग गर्न चाहन्छन् भने पनि स्वतन्त्र रहेको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>