Breaking News
जसपाको आन्तरिक विवाद उत्कर्षमाः अध्यक्ष यादव अल्पमतमा

काठमाडौँ, फागुन ३-
‘समावेशी र सामूहिक नेतृत्व’को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र इतर पक्षले बहुमत जुटाएका छन् ।
केन्द्रीय कार्यकारिणी, संघीय सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर बसेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन् ।
‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका लागि अध्यक्ष (यादव)ज्यूले आनाकानी गरिरहनुभएको छ । तर, सो मुद्दाको पक्षमा पार्टीभित्र स्पष्ट बहुमत जुटेको छ,’ असन्तुष्ट केन्द्रीय नेता मोहम्मद इस्तियाक राईले भने, ‘बहुमतको निर्णय मान्नुहुन्छ कि एकल रूपमा चल्नुहुन्छ, त्यसको निर्णय गर्ने जिम्मा अब अध्यक्षज्यूको काँधमा छ।’
उनका अनुसार बहुमतको निर्णयलाई स्वीकार गरेर अध्यक्ष यादव समावेशी र सामूहिक नेतृत्वका लागि तयार हुनु पर्नेछ । तर, यादवसँग असन्तुष्ट राईले अध्यक्ष यादवको विपक्षमा के कति मत छ ? भन्नेबारेमा स्पष्ट रूपमा खुलाउन भने चाहेनन्। यद्यपि, शीर्ष नेतृत्वदेखि केन्द्रीय समितिसम्म यादवको विपक्षमा मत प्रकट भने भइरहेको छ ।
भट्टराई निकट एक नेताका अनुसार कार्यकारिणी समितिमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका भट्टराई समूहसँग २१ र यादवको पक्षमा आठ जना छन् भने ११ जना सांसद भट्टराईको पक्षमा खुल्दा यादवलाई आठ जना सांसदले मात्र साथ दिइरहेका छन् ।
यसैगरी, केन्द्रीय समितिमा ३०४ जना असन्तुष्ट समूहमा खुल्दा यादवलाई भने २०३ सदस्यले मात्र साथ दिएको भट्टराई निकट नेताले जानकारी दिए ।
यसैगरी, यादवको एकल नेतृत्वमा रहिरहने चाहनाको विपक्षमा भट्टराईसहित अशोक राई, महेन्द्रराय यादव, राजकिशोर यादव, मोहम्मद इस्तियाक राई, प्रदिप यादवलगायतका नेताहरू उभिइरहेका छन् ।
‘बहुमतको निर्णय अस्वीकार गरेको खण्डमा अध्यक्ष यादवविरुद्ध कठोर निर्णय लिन हाम्रो समूह तयार छ,’ भट्टराई निकट ती नेताले भने, ‘सामूहिक नेतृत्वमा जसपा नगइ सुखै छैन । यसको संरचना नै समावेशी र समानुपातिक प्रतिनिधित्व झल्काउने हो, यो अब झल्किनुपर्छ ।’
उनका अनुसार गत आइतबार लाजिम्पाटमा बसेको शीर्ष नेताहरू यादव, भट्टराई, राई, मन्त्री यादव र राजेन्द्र श्रेष्ठसहितको सामूहिक बैठकमा ‘समावेशी र सामूहिक नेतृत्व’ स्वीकार गर्न अध्यक्ष यादवमाथि दबाब बढाइएको छ । –न्युज कारखाना
























