Breaking News

चितवन निकुञ्जले भन्योः माडी बाँदरझुलाको जग्गा नचलाउनु, मध्यवर्ती क्षेत्रको जग्गा मनपर्दी बाड्न मिल्दैन

Banner

चितवन, फागुन १-

चितवन राष्ट्रिय निकुञ्जले चितवनको मध्यवर्ती क्षेत्रको जग्गा नापजाँच नगर्न निर्देशन दिएको छ ।

चितवनमा भूमि आयोगले मध्यवर्ती क्षेत्रमा पर्ने माडीको बाँदरझुला लगायत विभिन्न क्षेत्रमा जग्गाको नाँपजाँच गरेर निकुञ्जको सहमति बिना जग्गाको निस्सा बाड्न थालेपछि निकुञ्जले सो निर्देशन दिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यसबारे जानकारी गराउँदै १० दिन अघिनै सबै मध्यवर्ती क्षेत्रका स्थानीय तहलाई पत्र पठाइएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ मध्यवर्ती क्षेत्रको जग्गा मनपर्दीरुपमा नापजाँच गर्न नमिल्ने भएकोले स्थानीय सरकारलाई पत्र पठाएर स्मरण गराएको हो । माथि मन्त्रालय तहबाट केही निर्देशन आए मात्र हो । अहिलेको कानुन अनुसार जग्गा नाँपजाँच गरेर निस्सा वितरण गर्न नै मिल्दैन ।’ चितवनमा इच्छाकामना गाउँपालिकाबाहेक ६ वटा स्थानीय तह मध्यवर्ती क्षेत्रभित्र नै पर्छन् । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर रहेको छ भने चितवनसहित विभिन्न जिल्लाभित्र ७२९.३७ वर्ग किलोमिटर क्षेत्र मध्यवर्ती क्षेत्रमा पर्छ ।

माडीको बाँदरझुला लगायत विभिन्न क्षेत्रमा जग्गाको नापजाँच गर्दै निस्सा बाड्न सक्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले आफूले माडी बाँदरझुलाका नागरिकलाई लालपुर्जा दिएर नै छाड्ने दाबी गरे । उनले नारायणी अनलाइनलाई भने, ‘१० वर्ष खनजोत गरेर बसेको जग्गाको लालपूर्जा बाड्ने मेरो अधिकार छ । अहिले निस्सा बाँडेको हो । बाँदरझुला क्षेत्रका बासिन्दालाई स्थानान्तरण नगरी नै म लालपुर्जा दिन्छु ।’

मध्यवर्ती क्षेत्रका पर्ने बाँदरझुलामा अध्यक्ष तिमिल्सिनाले अमिन लगेर जग्गाको नापजाँच गरेर निस्सा दिएका थिए तर उनीहरुलाई यस अगाडि पनि पटकपटक निस्सा बाँडिएको थियो । निस्सा लालपुर्जा होइन यो बसेको प्रमाणपत्र मात्र हो । गत बुधबार माडी नगरपालिका वडा नम्बर ९ बाँदरझुलामा फिल्डमा नापी नक्सा गर्न दुई सुपरिवेक्षक र चार अमिन खटिएका थिए । जग्गाको नापी हँुदा मूख्य सडकलाई २० मिटर राख्ने, ठाडो बाटो ८ मिटर र माथिको बाटो १० मिटरमाथिको बनाउने गरी स्थानीयसँग उनले छलफल पनि गरेका थिए । आयोगका अध्यक्ष तिमिल्सिनासहित माडी नगरपालिकाका मेयर ठाकुर ढकाल, उपप्रमुख ताराकाजी महतो, प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ, सशस्त्र प्रहरीका एसपी मनोज थापा, नापी कार्यालयका प्रमुख ग्रिसकुमारलाल कर्ण तथा जिल्लाका राजनीतिक दलका प्रतिनिधिको सो ठाउँमा उपस्थिति रहेको थियो । बाँदरझुलामा करिब ६५० घरधुरी रहेका छन् भने एक हजार बिघा जग्गा खनजोत भएको छ । बाँदलझुलमा विसं २०४८ सालदेखि देशका विभिन्न भूभागबाट आएका सुकुमबासीहरु बसोबास गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>