Breaking News

माडीका होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्यो 

Banner

– पुजा ढकाल 

चितवन, फागुन १ –

घुम्न आउने पर्यटकलाई लक्षित गरी माडीमा सञ्चालित होम स्टेमा आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गएको छ । माडी नगरपालिका–८ को शिवद्वारमा अयोध्यापुरी मध्यवर्ती सामुदायिक होम स्टे सञ्चालन गरिएको हो ।

तीनतर्फ चितवन राष्ट्रिय निकुञ्ज र एकतर्फ दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको माडी उपत्यकामाको शिवद्वारमा पुन मगर समुदायले विस २०७२ पुस १२ गते होमस्टे सञ्चालन गरेका हुन् । होमस्टे सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर पुन मगरका अनुसार सुरुमा ११ वटा घरधुरीमा होमस्टे सञ्चालन गरिएको थियो । जसमा ४४ जनालाई एक दिनमा राख्न सकिन्थ्यो । त्यस्तै हाल भने होमस्टेको संख्या बढाएर लगभग १५ वटा घरधुरीमा सञ्चालन भएको छ । जहाँ अहिले खाने र सुत्ने व्यवस्था गरेर एक रातमा ६० जनालाई बास बसाल्न सक्ने अध्यक्ष बहादुर पुन मगरले बताउनुभयो ।

सो क्षेत्रमा १४ वटा घरधुरी मध्ये नौ वटा पुन मगर, एक थापा मगर, दुई  श्रेष्ठ, एक महर्जन रहेका छन् । महर्जन पनि नेवार जनजाति समूहभित्रको भएकोले तीन घर श्रेष्ठले होमस्टे सञ्चालन गरेका छन् । होमस्टेले १५–२० जना भन्दा धेरैको संख्यामा आउने समूहलाई मात्रै पुन मगरको संस्कृतिक पहिरन लगाएर फूलको थुङ्गा तथा टीका लगाएर स्वागत गर्ने गरेको पुन मगरको भनाइ छ । त्यस्तै स्वागत गरेपछि पाहुनालाई हलमा राखेर प्रत्येक व्यक्तिको समूहलाई घर नम्बर बाँडेर तालिका अनुसार राख्ने गर्दै आएको पुन मगर बताउनुहुन्छ ।

लोप हुँदै गएको कला संस्कृति संरक्षण तथा संवद्र्धन गर्न आफ्नै लगानीमा उक्त होमस्टे सञ्चालन गरिएको हो । त्यस्तै पहिले ११ घरधुरीको संख्यामा होमस्टे निर्माण गर्दा नगरपालिकाले ५० हजार रुपैयाँ दिएको थियो । तर, उक्त पैसा प्रत्येक होमस्टेलाई ५/५ हजार पनि नपुगेको र एउटा झ्याल हाल्न पनि नपुगेको पुन मगरको भनाइ छ ।

मगरको अनुसार पछिल्लो समय नगरपालिकाले होमस्टेको पूर्वाधार विकासको लागि धेरै पहल गरेको छ । उहाँ भन्नुहुन्छ, ‘हाल नगरपालिकाले संस्कृतिक झल्किने खालको भवन निर्माण गरेको, बाटोको पूर्वाधार विकास गरेको र सामूहिक माछा पोखरी बनाउने काम गरेको छ । उक्त सामूहिक माछा पोखरीे, पहिले बुढाहरुले राखेको सार्वजनिक जमिनमा बन्दै छ । जुन पोखरी अब अर्काे वर्ष आउने पर्यटकले अवलोकन गर्न पाउनेछन् ।’

होमस्टेमा आउने पर्यटकलाई होमस्टेले मुख्य प्याकेजमा लोप भएर गएका प्राकृतिक संस्कृति र म्याग्दी पर्वतको सोरठी र मारुनी संस्कृति तथा निकुञ्जको टिकट काट्नेलाई निकुञ्ज घुमाउने गर्छन् ।

त्यस्तै आउने पर्यटकले खुसी हुँदै प्रशंसा गर्ने गरेको पुन मगरको भनाइ छ । उहाँको अनुसार हाल कोरोना महामारीपछि धेरै आन्तरिक पर्यटक आउने गरेका छन् र होमस्टे पनि पहिलेको अनुसार नै चलेको छ । तर, पहिलेको भन्दा हाल्को सजावटमा भने परिर्वतन आएको छ । आफ्नै लगानीमा सञ्चालन गरिएको उक्त होमस्टेलाई हाल धेरै सहयोगी संस्थाहरुले सहयोग गरेका छन् । जसको कारण अहिले होमस्टेको धैरै उन्नति हुनुका साथै आन्तरिक पर्यटक बढेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>