Breaking News
कतारमा भएको दुर्घटनामा चितवनका प्रदिपको ज्यान गयो

मधुसूदन दवाडी
चितवन, माघ २९
केही न केही नयाँ कीर्तिमान राखेर कतारमा नेपालीको शान बढाउँने अभियानमा लागेका चितवनका साइकल यात्री प्रदिप कुँवरले सडक दुर्घटनाबाट जन्मदिनको दिनमा माघ २५ गते नै ज्यान गुमाउनु पर्यो । उनी ज्यान गुम्नु केही क्षण अघिमात्र कतारको राष्ट्रिय स्पोर्टस डे को लागि भएको २०० किलोमिटर लामो साइकल दौंड प्रतिस्पर्धामा कुदिरहेका थिए ।
उनका साथीहरु र पारिवारिक स्रोतले जनाएअनुसार २०० किलोमिटर लामो साइकल दौंड प्रतिस्पर्धामा भाग लिएर सात जनाको समूहमा फर्किदै गर्दा साउदी – कतार हाइवेमा १५० किलामिटर स्पिडको ल्यान्ड्क्रुजरले उनलाई ठक्कर दिएर झण्डै २० मिटर पर हुत्याउँदा उनको घटनास्थलमा नै ज्यान गयो । उनले नत साथीहरुसँग बसेर जन्मदिन मनाउन पाए नत कतारको राष्ट्रिय स्पोर्टस डेमा सहभागिताको सम्मानपत्र नै ग्रहण गर्न पाए । उनको ज्यान गएसँगै भरतपुर महानगरपालिका–१५ मंगलपुर घरमा उनी आउँने दिन गनेर बसेका परिवार पनि टुहुरो भए । ४४ वर्षीय कुँवरको दुई छोरी, श्रीमती र ६५ वर्षीय आमा छन् ।
प्रदिपको मामा गीतानगरका विष्णु थापाले कतारको राष्ट्रिय स्पोर्टस डे मा भएको प्रतिस्पर्धामा ज्यान गएकोले उनको परिवारलाई त्यो देशले नै केही न केही सहयोग गर्ने आशा व्यक्त गरे । उनले नारायणी अनलाइनलाई भने, ‘ स्वर्गीय भान्जा प्रदिपको शव सोमबार नेपाल आइपुग्ने कुरा छ । उनले आफ्नो जन्मदिनकै दिन ज्यान गुमाएकोले निकै दुःख लागेको छ ।’ उनले भान्जा हरेक वर्ष केही न केही नयाँ कीर्तिमान राख्ने गर्दथे तर यसपटक जन्म दिनमा नै ज्यान गुमाउनु पर्यो ।
पहिले मंगलपुरको प्रगति शिक्षा सदन बोर्डिङ स्कुलमा पढाउने स्वर्गीय कुँवर कतार गएको झण्डै १४ वर्ष भएको थियो । उनले मंगलपुरकै विश्वप्रकाश माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी उतीर्ण गरेका थिए । उनी गत पुसमा नेपाल आउनलाई निकै प्रयास गरेका थिए तर कोरोनाको कारणले आउन पाएनन् । उनको मामा थापाले भने, ‘ मेरो आमा पुस २७ गते बित्नु भएको हो । आमा बित्दा भान्जाले नेपाल आउँनलाई निकै प्रयास गरेका थिए । कोरोनाको कारणले नेपाल आउने सपना अधुरै रह्यो ।’ उनले दुई वर्ष अघि मात्र भान्जासँग नेपाल आउँदा भेट भएको जानकारी दिए । उनको ६५ वर्षीय आमा र दुई छोरीहरु कहिले नेपाल आउँने भनेर दिन गनेर नै बसेका थिए ।
कुँवरले कतारमा रहेर निकै राम्रो कमाइ गरेको पारिवारिक स्रोतले बतायो । कतारको रानीले सञ्चालन गरेको सामाजिक संस्था कतार फाउण्डेसनमा उनले काम गर्दथे । उनीसँगै मंगलपुरमा पढाएका वीरेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रमेश प्रभातले कुँवर निकै सहयोगी खालको व्यक्तित्व रहेको बताए ।
बाबुराम भट्टराईको रोलमा विभिन्न हास्य टेलिश्रृंखलामा खैल्दै आएका उनका विद्यालयका साथी कलाकार ज्योति काफ्लेले स्वर्गीय कुँवरको सम्झना गर्दै फेसबुमा कतार कार्यक्रममा जांदा खिचेका प्रदिपसँगको तस्बिर अब सम्झना मात्रै रह्यो भनेर दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘ प्रदिपले दोहाबाट एक् डेढ घण्टामा पुगिने तिम्रो बासस्थान रस्लाफान एरियाको समुन्द्री किनारमा तिमीले दिएको रात्रीभोज र चितवनमा हामी सानोहुँदा ब्यतित गरेका ती क्षणहरुको अहिले पनि झल्झली याद आइरहेको छ । विश्वास नै लागिरहेको छैन कि तिमी यस संसारमा छैनौ ।’ उनको मृत्युको खबर कतार बस्ने साथिसँग सोधेर थाहा पाउँदा अत्यन्तै मर्माहत भएको छु, आफू जन्मेको दिन नै तिम्रो अन्तिम दिन हुन पुग्यो, जन्मदिनको शुभकामना दिनुपर्ने दिनमै अलबिदा प्रदीप भन्नुपर्ने कस्तो लिला गरेउ भगवान ? अतिनै गाहे क्षण भगवानले छोडेर गयौं । दुःख लागेको छ, तिम्रो स्वर्गमा बास होस् प्रदिप, शोकाकुल परिवारजनमा भगवानले सहने शक्ति प्रदान गरुन् , हार्दिक श्रद्धाञ्जली बालसखा प्रदिप !!!’
























