Breaking News
चितवनमा कोरोना संक्रमण १५ प्रतिशतमा झर्यो, स्वास्थ्य मापदण्डको पालना निरन्तर गर्न अनुरोध

प्रतिमा कुमाल
चितवन, माघ २९
विगत १० दिनदेखि जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या घटेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार माघ २० गतेदेखि संक्रमण हुनेको संख्या घट्दै गएको हो ।
कोरोना भइरसको तेस्रो भेरियन्ट ओमिक्रोन गत महिना पुसको अन्तिम सातादेखि चितवनमा देखिएको थियो । तीव्र संक्रमण क्षमता भएको नयाँ भेरियन्ट देखा परेपछि दैनिक करिब ५०० को नजिक संक्रमित भेटिएका थिए । अहिले भने दैनिक संक्रमित हुनेको संख्या १०० तल झरेको छ ।
कोभिड परीक्षण प्रयोगशाला भरतपुर अस्पताल प्रमुख मणिराज महतोले संक्रमित हुनेको संख्या १५ प्रतिशतमा झरेको बताए । ‘केही दिन अगाडि १०० जनाको परीक्षण गर्दा ६० देखि ७० प्रतिशतसम्मलाई संक्रमण पुष्टि हुन्थ्यो । अहिले १५ प्रतिशतमा झरेको छ,’ उनले भने ।
स्वास्थ्य मापदण्ड पालनामा हेलचक्राइ नगर्न कोभिड परीक्षण प्रयोगशाला भरतपुर अस्पताल प्रमुख महतोले आग्रह गरेका छन् । उनले भने, ‘स्वरुप परिवर्तन गरिरहेको कोरोना कहिले कस्तो रुपमा आउछ थाहा छैन । स्वास्थ्य मापदण्ड पालनामा हेलचक्राइँ गर्न हुँदैन । मास्क, सेनिटाइजर, सरसफाइमा अनिवार्य ध्यान दिनुपर्छ ।’ प्रमुख महतोले मानवीय सुरक्षा, अर्थतन्त्र गिरावटलाई जोगाइ राख्न भीडभाड नगर्न समेत अनुरोध गरेका छन् ।
कोरोना संक्रमण दर घट्दै जादा स्वास्थ्य मापदण्ड पालनामा हेलचक्राइँ गरेको पाइएको छ । मान्छे आफैँ सजक रहनुपर्ने अवस्थामा प्रहरीले मास्क लगाउन अनुरोध गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कल्पना नरालले बताइन् । उनले भने, ‘मान्छेहरु डराउन छाडे । कोरोना भित्रिएको वर्षौ भयो अझै सचेतना फैलाउँदै छौं । मास्क लगाउनुपर्छ भन्ने थाहा भएर हो वा नभएर खुला हिडिरहेको देखिन्छ ।’ नरालले माघ १ गते देखि जिल्लामा ६ हजार मास्क वितरण गरेको जानकारी दिइन् ।
























