चितवन विशेष

भरतपुर कारागारका कैदीबन्दीलाई पुस्तक प्रदान

Banner

चितवन, माघ २८–

जिल्ला प्रहरी कार्यालय चितवन र सामुदायिक सेवा केन्द्र नारायणगढले जिल्ला कारागार भरतपुरमा पुस्तक वितरण गरेको छ ।

आज (शुक्रबार) एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नंं.१० का अध्यक्ष अरुणपीडित भण्डारी र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रबाट संकलन गरिएका ४०० वटा नयाँ तथा पुराना पुस्तक हस्तान्तरण गरिएको सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले जानकारी दिइन् । कारागारमा कैदीबन्दी जिवन बिताइरहेकाहरुलाई नयाँ कुरा सिक्न र समय गुजार्न सहज होस् भन्ने उद्देश्यले पुस्तक वितरण गरिएको खरेलले बताइन् ।

सो क्रममा बोल्दै प्रमुख अतिथि महानगरका प्रवक्ता भण्डारीले यस पुस्तकबाट कैदीबन्दी जीवन बिताइरहेकाले केही सिक्ने अवसर मिल्ने बताए । मानिस दुई तरिकारले अर्थात् स्वअध्ययन र उत्प्रेरणाले परिवर्तन हुने गरेको भन्दै किताबी ज्ञान आफै अध्ययन गरेर आफूलाई परिवर्तन गर्न सकिने भएकाले महत्वपूर्ण रहेको बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले कारागार सुधार गृह भएकाले मानिसलाई सुधार्नका लागि ज्ञान दिन आवश्यक रहेको बताए । सुनसरीको इटहरीमा पुस्तकालय स्थापनाबाटै गाउँमा आमूल परिवर्तन आएको उदाहरण दिँदै एसपी अधिकारीले किताबको शक्ति महत्वपूर्ण रहेको बताए । उनले कारागारमा भेट्न आउने आफन्तले साथमा पुस्तक उपहार लिएर आउने अभियान थाल्नुपर्ने बताए । ‘कारागारमा भेट्न आफन्तहरु विभिन्न सामग्रीहरु लिएर आउँछन्, त्यहीबेला एउटा पुस्तक समेत उपहार ल्याउने अभियान चलाउन सकिए कैदीबन्दीले राम्रो ज्ञान पाउन सक्छन्’–एसपी अधिकारीले भने ।

कारागारका जेलर कमलप्रसाद काफ्लेले प्राप्त पुस्तकलाई सदुपयोग गर्दै व्यवस्थित गरिने बताए । उनले यस पुस्तकबाट कैदीबन्दीहरुले ज्ञानगुनका कुरा सिक्नुको साथै समयको पनि सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । कारागारमा ३७९ वटा विभिन्न कानुन सम्बन्धी र ३५ वटा अध्यात्मिक पुस्तकहरु हस्तान्तरण गरिएको हो । कैदीबन्दीहरुलाई पुस्तक प्रदान गर्न किताब संकलन अभियान नै थालिएको थियो । सोही अभियानको नेतृत्व गरेकी जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले जिल्ला प्रहरी कार्यालय भित्रका हरासतमा रहेको बन्दीहरुलाई पनि किताब प्रदान गरिएको बताइन् ।

यस्तै अभियानका संयोजक अर्जुन अधिकारीले नयाँ मात्र नभई पुराना किताबहरु संकलन गरि ज्ञान प्रदान गर्ने उद्देश्यले पुस्तक वितरण गरिएको बताए । उनका अनुसार समुदाय र प्रहरीले संचालन गरेको पिटिसिटु विद्यालयसंगै जिल्ला प्रहरी कार्यालय र कारागार कार्यालयमा पुस्तक प्रदान गरिएको छ । यस अभियान जारी राख्ने अधिकारीले बताए । कार्यक्रममा भरतपुर–१० की वडा सदस्य माया नेपाली, अधिकारकर्मी संगीता भट्टराई, युवा अभियन्ता जायेश्वर आचार्यलगायतको उपस्थिति रहेको थियो ।

यस्तै पुस्तक व्यवस्थित तरिकाले राख्नका लागि भरतपुर–१० वडा कार्यालयले पुस्तक र्‍याक समेत कारागारलाई सहयोग गरेको छ । भरतपुर कारागारमा हाल ७ सय कैदीबन्दी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>