देश/प्रदेश
मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कका सह–अध्यक्षमा सञ्चार विज्ञ पन्त निर्वाचित

चितवन, माघ २७-
मिडिया एक्सन नेपाल (म्यान)का अध्यक्ष सञ्चार विज्ञ लक्ष्मणदत्त पन्त विश्वभर प्रेस स्वतन्त्रताको रक्षा र प्रवद्र्धन गर्ने विश्वव्यापी नेटवर्कको सह–अध्यक्षमा निर्वाचित भएका छन्।
विभिन्न देशका २२ संस्था मिलेर बनेको मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको निर्वाचनले मंगलबार पन्तलाई प्रभावशाली विश्वव्यापी पदमा निर्वाचित गरेको हो।
मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरूको समूह हो । जसले मिडिया स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको पक्षमा वकालत गर्न र पत्रकारहरूलाई हानि गर्नेहरूलाई कारबाही गर्न मिलेर काम गर्ने राष्ट्रहरूको साझेदारी मिडिया फ्रिडम कोलिसनलाई सल्लाह दिन्छ ।
‘पदसँगै आफ्नो जिम्मेवारी बढेको महसुस गरेको छु । नेपाललगायत धेरै देशमा प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको बेला हामीले यसलाई जोगाउन सामूहिक रूपमा सक्दो प्रयास गर्नुपर्छ,’ सञ्चार विज्ञ पन्तले सह–अध्यक्षमा निर्वाचित भएपछि टिप्पणी गर्दै भने, ‘मिडिया स्वतन्त्रता प्रवद्र्धन गर्न साहस चाहिन्छ । त्यसका लागि नेटवर्कका अन्य सह–अध्यक्ष र सदस्यहरू तथा संस्थाहरूसँग मिलेर हाम्रा कार्यहरूलाई अझ राम्रोसँग समन्वय गर्न र प्रभावकारिता बढाउन काम गर्नेछु ।’
मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कका सदस्यहरूमा मिडिया एक्सन नेपालसहित आर्टिकल–१९, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, इन्टरनेशनल प्रेस इन्स्टिच्युट, रिपोर्टर्स सेन्स फ्रन्टियर्स, अन्तर्राष्ट्रिय प्रसारण संघ, समाचारपत्र र समाचार प्रकाशकहरूको विश्व संघ, द गार्जियन, अन्तर्राष्ट्रिय मिडिया सपोर्ट, कमिटि टू प्रोटेक्ट जर्नालिस्ट्स, पब्लिक मिडिया अलायन्स, इन्टरन्युज युरोप, आइफेक्स , फ्री प्रेस अनलिमिटेड कम्बोडियन सेन्टर फर ह्युमन राइट्स, पाकिस्तान प्रेस फाउन्डेसन, डि डब्ल्यू एकेडमीलगायतका २२ ओटा संस्थाहरू छन्।
गत महिना, नेपाल र दक्षिण एसियामा कार्यरत मिडिया अधिकार तथा अनुसन्धान संस्था मिडिया एक्सन नेपाललाई मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यको रूपमा चयन गरिएको थियो । सञ्चार विज्ञ पन्तको नेतृत्वमा सन् २०१५ मा स्थापित मिडिया एक्सन नेपाल नेपालमा मिडिया अनुसन्धान, प्रेस स्वतन्त्रता र जवाफदेहिताको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।

























