Breaking News

भरतपुर महानगरपालिकाको मेयरमा फेरि रेनु दाहालको चर्चा, समर्थकले थाले प्रचारप्रसार

Banner

चितवन, माघ २७-

स्थानीय तहको निर्वाचन घोषणा भएसँगै भरतपुर महानगरपालिकाको मेयरमा फेरि रेनु दाहालको चर्चा सुरु भएको छ ।

माओवादी केन्द्रका समर्थक तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालमा व्यानर नै बनाएर फेरि मेयरमा दाहालको चर्चा सुरु गरेका हुन् । उनका समर्थक तथा शुभचिन्तकहरुले ३० वर्षमा हुन नसकेको विकास दाहालको कार्याकालमा पूरा भएको भन्दै फेरि दाहाल नै मेयरको रुपमा निर्वाचित हुनुपर्ने जीकिर गरेका छन् ।

आगामी स्थानीय तहको निर्वाचनको बारेमा सामाजिक सञ्जालमा भएको प्रचारप्रसारको बारेमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू फेरि उठ्नेबारे केही नसोचेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘अहिले नै व्यक्तिगतरुपमा केही सोचेको छैन ।’ उनका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले भरतपुरमा भएको विकास निर्माण देखेर शुभचिन्तकले आकांक्षा राखेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ उहाँ मेयर बन्ने वा नभन्ने भन्ने कुरा माओवादी केन्द्रले निर्णय गर्ने कुरा हो ।’

माओवादी केन्द्र समर्थक चलचित्र पत्रकार रवि अधिकारीले निर्वाचन घोषणा हुनासाथ भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल उठ्नुपर्ने इच्छा व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘ हामी भरतपुरबासीको एउटै मात्र चाहना रेनु दाहाल फेरि एकपटक मेयर भएर भरतपुरको थप विकास गर्दिनु होला ।’ माओवादीका अर्का युवा नेता सुसन चितवनेले हिजो २० वर्षमा हुन नसकेको काम रेनुको कार्यकालमा भएको भन्ने दाबी गर्दै अब फेरि उनको नेतृत्व हुनुपर्ने बताएका छन् ।

अर्का प्रमोद तिवारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ हाम्रो नगरलाई नेपालकै मात्र हैन संसारकै हेर्न लायक सुन्दर नगरी बनोस् भन्ने हाम्रो चाहना अनुरुप वर्तमान मेयरलाई नै पुनः एकपटक यहाँको नेतृत्व गर्ने अवसर नेकपा माओवादी केन्द्रले प्रदान गरोस् भन्ने अनुरोध गर्दछौं । साथै उहाँको अभियानलाई साथ दिने टिम पनि सोही अनुरुप छनौट गरियोस् भन्ने शुभेच्छा समेत ब्यक्त गर्दछौं ।’

माओवादी केन्द्र समर्थक युवाहरुले प्रचारप्रसार नै सुरु गरे पनि रेनु दाहाल फेरि भरतपुरमा दोहोरिने वा नदोहोरिने निश्चित हुनको लागि अझै केही समय पर्खनुपर्ने नै हुन्छ । यसअघि कांग्रेस–माओवादी गठबन्धनबाट १९ नम्बर वडामा पुन निर्वाचन गरेर जितेकी मेयर दाहालले यसपटक के कसरी गठबन्धन अगाडि बढ्छ हेर्न नै बाँकी छ । यसअगाडि भरतपुरमा दाहालले जित्ने सम्भावना नदेखेपछि मतपत्र च्यातेर पुन निर्वाचन गराई दाहाललाई जिताइएको थियो । यसपटक सरकारमा समावेश भएका दलहरुको गठबन्धन स्थानीय निर्वाचनमा हुन्छ वा हुँदैन त्यो हेर्न बाँकी नै छ । तर, नेपाली कांग्रेस चितवनमा सचिव उत्तम जोशीले भने अबको निर्वाचनमा गठबन्धन नै हुन नहुने आफ्नो व्यक्तिगत विचार रहेको बताएका छन् । सरकार निर्माणको लागि केन्द्रमा गठबन्धन भए पनि चितवनमा गठबन्धन जरुरी नहुने उनले बताए ।

आगामी स्थानीय निर्वाचनमा भरतपुरमा राजनीतिक दलका के कस्ता प्रतिबद्धता आउँनेछन् र चुनावी समिकरण कस्तो बन्छ सोही आधारमा भरतपुरको मेयर को बन्छ भन्ने पूर्वअनुमान गर्न सकिन्छ । माओवादीको भरतपुरमा कमजोर  संगठन रहेकोले गठबन्धन नभई कमजोर संगठनको बलमा जित्ने सम्भावना भने निकै कम देखिन्छ । दाहाल मेयर भएर पाँच वर्ष भरतपुरको नेतृत्व हाकेको कारणले बढ्दो जनसम्पर्क र भौतिक पूर्वाधार विकासको  थालनी भएका कारणले जनमत रेनुको पक्षमा आउने माओवादी समर्थकहरुको आँकलन छ ।

भौतिक पूर्वाधारमा भएको विकासले पनि मेयर दाहाल फेरि दोहोरिएमा केही तप्काले विकासलाई नै हेरेर भोट दिने प्राध्यापक विनोदखण्ड तिमिल्सिनाले दाबी गरे । उनले भने, ‘सूर्यबहादुर थापाको धनकुटा र शेरबहादुर देउवाको डडेल्धुरामा सधै चुनाव जित्नुको कारण विकासले गर्दा नै भएको हो । राजनीतिक विचारधाराको प्रभाव पनि आफ्नो ठाउँमा होला तर विकासले पनि केही भोट भने तान्न सक्छ ।’ चितवनका ठूला विकास आयोजनामा प्रचण्डले केन्द्रीय बजेट पारेको हिसाबले पनि भरतपुरका जनताले रेनुलाई भोट पक्कै दिने तिमिल्सिनाले दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>