Breaking News

रोकिएन भरतपुर २९ को पहाडमा ढुंगामाटो चोरी, महानगरपालिका र प्रहरी अझै मौन, सिडिओ अनविज्ञ

चोरलाई कारबाही नगरी धमाधम स्वीकृती दिँदै महानगरपालिका

  • Logo
    app haru
  • २७ माघ २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ २७ –
चितवनको भरतपुर महानगरपालिका २९ मा भइरहेको अवैध पहाड उत्खनन् अझै रोकिन सकेको छैन ।

कविलासस्थित व्यक्तिको नाममा रहेको र केही सार्वजनिक जग्गाबाट जथाभावी पहाड तथा नदी उत्खनन् गरी ढुँगामाटो निकासा भइरहेको छ ।

त्यसबारे नारायणी अनलाइनले गत माघ २ गते समाचार प्रकाशन गरेको थियो । भरतपुर महानगरपालिकासहित प्रहरी प्रशासनसम्मलाई खबर पुगे पनि उक्त उत्खनन्का बारेमा महानगरपालिका र प्रहरी प्रशासन मौन बसेका छन् ।

सो क्षेत्रबाट ठूलो परिमाणमा ढुँगामाटो निकालिएको छ । रातको समयमा ट्रयाक्टर र टिपरको प्रयोग गरी भरतपुरका विभिन्न वडामा ढुँगामाटो लाने गरिएको स्थानीयले नारायणी अनलाइन समक्ष गुनासो गरेका छन् । आफूहरु बोल्दा उल्टै धम्काउने र थर्काने गरेको एक स्थानीयले गुनासो गरिन् । उनले भनिन्, ‘वडा प्रहरीमा गएरभन्दा पनि झर्केर बोल्छन् । वडाध्यक्षले पनि वास्तै गर्दैनन् । डोजर र टिप्पर रातभर हिँड्छन् । हामी गरिब स्थानीयहरु पहिरोको जोखिममा पर्ने भयौं ।’

भरतपुर महानगरपालिका र वडा नम्बर २९ ले सो क्षेत्रबाट ढुंगामाटो चोरी भएको बताएको छ । भरतपुर महानगरपालिकाले १५ दिनअघिसम्म भरतपुर २९ का कुनै पनि स्थानमा उत्खनन्का लागि स्वीकृति नदिएको बताएको थियो । महानगरपालिकाले त्यतिबेला ती स्थानबाट ढुँगामाटो चोरी भएको बताएको थियो । तर अहिले एक स्थानमा स्वीकृत दिइसकिएको र अरुलाई पनि स्वीकृत दिने चरणमा रहेको बताएको छ । भरतपुर महागरपालिकाका प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले माटो निकासाका लागि वातावरणीय प्रभाव मूल्याङ्ककन (इआइए) गर्न फाइलहरु महानगरमा आएका भए पनि केही दिनअघि एउटालाईमात्र स्वीकृती दिएको बताए ।

व्यत्तिका नाममा रहेका विभिन्न स्थानमा उत्खनन्का लागि थुप्रै फाइल आएको भए पनि महानगरको कार्यपालिकाले एक स्थानमा मात्र इआइए पास गरेर स्वीकृति दिएको उनले बताए । ‘एक ठाउँमा जग्गा सम्याउनका लागिमात्र भनेर स्वीकृत दिइएको छ । अरु फाइलहरु अध्ययन भइरहेको छ’ उनले भने ।

तर उक्त स्थानमा विगतदेखि नै रातारात उत्खनन् भइरहेको छ । एक ठाउँमा मात्र होइन विभिन्न स्थानमा उत्खनन् भइरहेको छ । यसबारेमा सोध्दा प्रशासकीय अधिकृत सुवेदीले चोरी भएको बताए । उनले ती स्थानबाट अवैध उत्खनन् गर्ने ५ वटा ट्रक र एउटा डोजरलाई नियन्त्रणमा लिएर कारबाही गरेको समेत बताए । प्रहरीलाई पनि कारबाहीका लागि धेरै पटक आग्रह गरिएको उनको भनाइ छ । उनले भने ‘त्यति हुँदाहुँदै पनि राति कतिबेला कहिले चोर्छन् । थाहै हुँदैन । चोरलाई कसै गरे पनि रोक्न नसकिने रहेछ । सकेसम्म रोकिरहेका छौं ।’

यसअघि पनि उनले यस्तै प्रतिक्रिया दिएका थिए । तर चोरी नियन्त्रण हुन सकेको छैन । महानगरपालिका चोरी नियन्त्रण गर्नतर्फभन्दा पनि चोरी गर्नेलाई ढाकछोप गरी बरु छिटोभन्दा छिटो उत्खनन्का लागि स्वीकृत पत्र दिने तयारीमा लागेको छ । चोरीमात्र होइन ती स्थानमा नचाहिने ठाउँमा पनि सडक खोलेर अवैध उत्खनन् समेत गरिएको छ ।

भरतपुर महानगरपालिका वातावरण शाखाका प्रमुख विराट घिमिरेले चोरी कार्य नियन्त्रण गर्ने जिम्मा प्रहरीको भएको बताए । महानगरपालिकाले उत्खनन्बारे औपचारिक निर्णय नगरेका ठाउँमा उत्खनन् भए त्यसलाई प्रहरी प्रशासनले नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (एसपी) ओम अधिकारीले कुन ठाउँमा स्वीकृत दिएको हो कुन ठाउँमा होइन भन्ने कुरा त्यहाँको वडा र महानगरपालिकाले जानकारी गराउनु पर्नेमा त्यसो नभएको बताए । उनले भने ‘जोसँग स्वीकृती दिने अधिकार छ रोक्ने अधिकार पनि उसैसँग हुन्छ । महानगरपालिकासँग म्यान पावर भएन भने हामी सक्रिय हुने हो । उहाँहरुले अवैध उत्खनन् भएको भए त्यसलाई रोक्नका लागि हामीलाई भन्नुपरो ।’

‘अवैध उत्खनन् भनेको यो एकपटक चोरेर फुत्त लाने कुरा होइन । आज उत्खनन् गरेको छ भने भोलिपल्ट खाल्टो हुन्छ । खाल्टो वडाध्यक्षले पनि देख्नुहुन्छ । अनि उहाँले ल अवैध उत्खनन् भो भनेर जानकारी गराउनुहुन्छ । अनि बल्ल हामी गएर रोक्छौं । कुनै अवैध कुन वैध भन्ने कुरा उहाँहरुले छुट्याउने हो ।’ उनले भने ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले उत्खनन्बारे अनविज्ञता प्रकट गरे । उनले आफूलाई यसबारे केही थाहा नभएको र बुझेर प्रतिक्रिया दिने बताएका थिए । तर उनले २४ घण्टापछि सोध्दा पनि कुनै प्रतिक्रिया दिन सकेनन् । उनी नारायणी अनलाइनसँग सम्पर्कमै आउन चाहेनन् ।

भरतपुर महानगरपालिका २९ का वडाध्यक्ष मनबहादुर मगरलाई यसबारेमा सोध्दा उनले भने, ‘उत्खनन् भैराछ भन्ने की भएन भन्ने । चोरले रातारात गर्छन् थाहै पाइँदैन ।’

दिउँसो देखेपछि थाहा भएन् भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘हामीले जानकारी गराउने महानगरपालिकालाई हो । प्रहरीलाई हो । महानगरले पनि हेर्देन । प्रहरीले पनि वास्ता गर्दैन ।’

‘प्रहरीले बाटोमा रोकेर कागजपत्र जाँच गर्नुपर्दैन’ उनले प्रश्न गर्दै भने ‘म एकपटक दुई वटा गाडीमा माटो लोड भएको देखेर पछिपछि गएँ । जुगेडीमा चेक भएको छैन । रामनगरमा छैन । आँपटारीमा पनि भएन । अब कसैले ख्यालै गर्दैन । हाम्रो केही लाग्दैन क्या चोरसँग ।’
जनप्रतिनिधिले दिएको यस्तो जवाफबाटै उनको नियतमाथि प्रश्न गर्न सक्ने थुप्रै आधार देखिन्छन् ।

चोरी भएको थाहा पाइरहँदा पनि कुनै कदम नचाली बस्ने भरतपुर महानगरपालिका अवैध उत्खनन् नियन्त्रणमा असफल भएको देखिन्छ । उत्खनन् गर्न स्वीकृत दिने अधिकार भएको महानगरपालिकासँग नै अवैधरुपमा भइरहेको उत्खनन् रोक्ने अधिकार हुन्छ । नगर प्रहरीले रोक्न नसके नेपाल प्रहरीको सहयोगमा भए पनि पहाड उत्खनन् गरी गरिएको चोरी निकासी नियन्त्रण गर्नुपर्छ । खुलेआम चोरी हुँदा पनि महानगरपालिकाले कुनै कदम नचाल्नु लज्जास्पद विषय हो ।

महानगरपालिका मौन भएर बस्ने, बरु चोरी भएको ठाउँलाई स्वीकृत दिन तिर लाग्ने कार्यले चोरी कार्यमा महानगरकै संलग्नता भएको पुष्टि हुन्छ । महानगरपालिकाका कर्मचारी र केही पार्टीका कार्यकर्ता अवैध उत्खनन् र निकासीमा संलग्न भैरहेको स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>